नेपाल चिकित्सक संघ अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनकालागि शनिबार र आईतबार दुईदिन सम्म उपत्यका बाहिर भएको निर्वाचनमा उपत्यका बाहिर २ हजार ८५० जनाले मतदान गरेका छन् । संघको अधिवेशन अन्तरगत उपत्यका बाहिर १६ स्थानमा मतदान भएको थियो । जसमध्ये लुम्बिनी शाखाको बुटवलमा भएको मतदानमा शनिबार १८३ र आईतबार १३३ गरि कुल ३१६ मत खसेको निर्वाचन आयुक्त डा. कृष्ण खरेलले जानकारी दिनुभयो ।
संघको नयाँ नेतृत्व चयनकालागि शनिबार र आईतबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा उपत्यका बाहिरका १६ स्थानमा गरि शनिबार १ हजार ४७६ मत खसेको थियो भने आइतबार १ हजार ३७४ मत खसेको छ । २५ मतदाता रहेको जुम्लामा शनिबार मात्रै १९ मत खसेको थियो । उपत्यका बाहिरका १६ स्थानमा दुई दिनसम्म भएको निर्वाचनमा लुम्बिनीमा ३१६, मेचीमा १२७, कोशीमा ३८८, सिरहामा ४३, धरानमा ३४५, सगरमाथामा ४६, जनकपुरमा २३५, नारायणीमा २६०, चितवनमा ३९७, गण्डकीमा २५२, भेरीमा १७३, सेतीमा ९२, सुर्खेतमा २७, दाङमा ६०, जुम्लामा १९, पाल्पामा ७१ मत खसेको छ ।
उपत्यकाभित्र भने यही माघ १७ देखि २१ गतेसम्म मतदान हुनेछ । संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन् । संघको दुईं वर्षे कार्यकालकालागि लोकतान्त्रिक समुह र प्रगतिशिल समुहले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् ।
जसमा लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा डा. लोचन कार्की, वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलबिक्रम कार्की, महासचिवमा डा. बद्रि रिजाल, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा. निरजकुमार सिंह र सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी चुनावी मैदानमा हुनुहु्न्छ । त्यस्तै सदस्यहरुमा डा. बिक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दाकुमारी गुरुङ्, डा. प्रमोद जोशी, डा. रितेस थापा र डा. सञ्जिव तिवारी हुनुहुन्छ ।
त्यसैगरी प्रगतिशिल समुहले अध्यक्षमा डा. पुष्पमणी खरेल, वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा डा. सञ्जितकुमार शाह, सहसचिवमा डा. सैलेन्द्र झा र सहकोषाध्यक्षमा डा. उदयनारायण सिंहलाई अंगाडी सारेको छ । त्यस्तैगरी सदस्यहरुमा डा. दिपकप्रसाद कोईराला, डा. जगदिशचन्द्र बिष्ट, डा. लिसन महर्जन, डा. राकेशकुमार शाह, डा. सुमन काफ्ले र डा. त्रिभुवनचन्द्र झा रहनु भएको छ ।
