कोभिड १९ : पाल्पाको रामपुर अस्पतालमा हेल्प डेस्क

787

कोभिड १९ : पाल्पाको रामपुर अस्पतालमा हेल्प डेस्क

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरना भाइरसको संक्रमणबाट सचेत रहन पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर अस्पतालले हेल्प डेस्क राख्ने भएको छ । अस्पताल परिषरमा हेल्प डेस्क स्थापना गरी दुई जना स्वाथ्यकर्मी परिचालन गर्ने अस्पतालले जनाएको छ ।
भाइरसबाट बच्न र सर्वसाधारणलाई परामर्श दिने, बिरामीलाई साबुनपानीले हातधुन लगाउने, सामान्य औषधी वितरण गर्ने, ड्युटीमा खटिने स्वास्थ्यकर्मीले अनिवार्य मास्क र ग्लोव प्रयोग गरेर मात्र सेवा दिइने अस्पताल प्रशासन सहायक हिरा बिकले जानकारी दिनुभएको छ ।
शनिवार अस्पताल विकास समितिका सदस्य ईश्वरीदेवी खनालको अध्यक्षतामा बैठक बसी विश्वभर फैलिएको नोबेल कोरना भाइरसको संक्रमणबारे सर्तक रहन सर्वसाधारण नागरिकमा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय भएको छ ।
अत्यावश्यक सामग्रीको लागि माथिल्लो निकायमा माग गर्ने, अपुग सामग्रीलाई अस्पतालबाटै व्यवस्थापन गर्ने, रामपुुर नगरपालिका, नेपाली सेना, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ संग समन्वय गरी कोरना भाइरसको उच्च जोखिमलाई कम गर्न समन्वय समिति गठन गरिने भएको छ ।
अस्पतालमा दैनिकजसो दुई सय देखि दुई सय ५० सम्म ओपिडी सेवा र ५० देखि एक सय सम्म इर्मजेन्सी बिरामीले सेवा लिने गरेका छन् । हाल मौसमी रुघाखोकीका बिरामी बढ्दै गइरहेको अवस्थामा सरकारले पनि जोखिम अवस्था घोषणा गरेको हुदा अत्यावश्यक बिरामी बाहेक भीडभाड नगरी घरमै बसेर कोरनाको संक्रमणबाट सर्तक रहन अस्पतालले अनुरोध गरेको छ ।