घरको छतमा नमुना तरकारी खेती

2.2K

घरको छतमा नमुना तरकारी खेती

सुशीला रेग्मी /
तरकारी लगाउनका लागि प्रशस्त जग्गा नै चाहिन्छ भन्ने छैन । आफुमा जाँगर र मेहनत भयो भने घरको छतमा तरकारी लगाएर राम्रो उत्पादन गर्न सकिन्छ । पाल्पा रामपुर नगरपालिका वडा नं ५ बेझाड बजार बस्ने बिन्दु श्रेष्ठले घरको छतभरी विभिन्न जातका तरकारी लगाएर हरियाली बनाउनुभएको छ । छतमा तरकारी खेती गर्न थालेपछि उहाँलाई बिहान साँझ तरकारी किन्नका लागि पैसा खर्चनु परेको छैन ।
“घरको छतमा तरकारी खेती गर्न थालेपछि साँझ बिहान के तरकारी पकाउने भन्ने पिरलो छैन, बजारमा तरकारी किन्न छाडेको दुई तीन वर्ष भयो, घरकै उत्पादनले पुगिरहेको छ” उहाँले भन्नुभयो । श्रेष्ठले घरको छत पुरै तरकारी खेतीले ढाक्नुभएको छ । उहाँलाई तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने, रेखदेख गर्ने गर्दैमा दिन बितेको पत्तो छैन । घरमा पुग्ने आफन्त छिमेकीलाई पनि तरकारी कोशेलीका रुपमा दिने गर्नुहुन्छ ।
पुष्पा श्रेष्ठले पनि १०÷१२ वर्ष देखि घरको छतमा क्यारी बनाएर तरकारी खेती गर्दै आउनुभएको छ । पहिला तरकारी खरिदमा उहाँलाई दैनिक डेढ सय सम्म रकम खर्चनुपथ्र्यो तर अहिले भने आफैले छतमा उत्पादन गरी बिहान साँझ घरलाई खान पु¥याउनुहुन्छ । “दिनहुँ तरकारीमै डेढ सय सम्म रकम खर्चनुपथ्र्यो, बजारमा आएका विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा पनि असर गर्ने, अहिले त तरकारी किन्ने पैसा वचत भएको छ, आफैले फलाएको स्वस्थ्य तरकारी खान पाइएको छ” श्रेष्ठले अनुभव सुनाउनुभयो ।
आफुमा जाँगर भयो भने कम मेहनतमा पनि घरको छतमा या कौसीमा तरकारी लगाएर तरकारी किन्ने पैसा वचत गर्न सकिन्छ । काठमाण्डौँ पोखरा लगायतका विभिन्न बजारका घरको छतमा तरकारी लगाएको देखेपछि ३० हजारको लगानीमा क्यारी बनाएर तरकारी लगाउन थालेको सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँको घरको छतमा अहिले साग, मुला, धनियाँ, सिमि, काउली लगायतका विभिन्न जातका तरकारी छन् । तरकारीमा मलको लागि स्थानीय जातका कुखुरा पनि पाल्नुभएको छ ।
सिजन अनुसारका विभिन्न जातका तरकारी उत्पादन गरी घरलाई खान पुग्ने भएपछि बेझाड बजारका नागरिकले घरको छतमा क्यारी बनाएर तरकारी लगाउन थालेका हुन् । घरका छतमा गमला, क्यारी, बोरामा तरकारी लगाएर हरियाली बनाउने गरेका छन् । तरकारी खरिदमा पैसा खर्च गर्नु नपर्ने आफैले घरमा विषादीरहित उत्पादन गरिएको तरकारीले स्वास्थ्यलाई फाइदा हुने भएपछि अहिले घरको छतमै तरकारी लगाउनेको आकर्षण बढ्दो छ ।