चर्चित गायिका समीक्षा अधिकारीका लोकप्रिय गीतसँगै तिलाेत्तमा संगीतमय बनेको छ । गायिका अधिकारीको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिँदै साथ दिएका थिए ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा रुपन्देहीकाे तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा बिहिबार अधिकारीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाएकी थिइन् । उनले ‘सुहाउने चिटिक्कै’, ‘देशै छोडेर’, ‘पीआर वाला मायालु’, ‘शिरमा शिरबन्दी’, ‘दुश्मन हेरेको हेर्यै’, ‘बुझिनँ मैले’, ‘के हेरेको टुलुटुलु’, ‘सुर्ती माड्दा माड्दै’, ‘कता हिँडेको बिजुली बालेर’ लगायतका थुप्रै गीत गायकी थिइन् । दर्शकले पनि उनीसंगै गाउँदै नाचेका थिए ।
उनका लोकप्रिय गीतमा दर्शकले ताली र हुटिङमार्फत साथ दिँदा मेला परिसर थप उत्साहित बनेको थियो । विशेषगरी युवा पुस्ताको उल्लेख्य सहभागिताले सांगीतिक माहोललाई थप रोमाञ्चक बनाएको थियो ।
बिहीबारको कार्यक्रममा गायक गायिकाहरु युवराज भुसाल, विष्णु श्रीपाली, वसन्त लम्साल, सम्झना रणपाल तथा हास्यकलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगायत स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए ।

मंसिर ३ गतेदेखि सुरु भएको मेला मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । मेलामा औद्योगिक तथा व्यापारिक प्रदर्शनीसँगै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति समावेश गरिएको आयोजकले जनाएको छ । व्यापार प्रवर्द्धनसँगै मनोरञ्जन र सांस्कृतिक गतिविधिलाई समेत प्राथमिकता दिइएको मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ ।