भोलिदेखि बुटवलमा खाना महोत्सव हुँदै

1.3K

भोलिदेखि बुटवलमा खाना महोत्सव हुँदै

बुटवलमा भाेली शुक्रबारदेखि बुटवल खाना महोत्सव हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवल-११ देवीनगरस्थित खुला मञ्चमा मंसिर ११ देखि १५ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक माधवकुमार खनालले नेपाली मौलिक खानाका परिकार, कला संस्कृति र पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
‘अतिथि देवो भवः’ भन्ने मूल मर्मसहित आयोजना हुने महोत्सवमा थारू, नेवारी, मगरलगायत विभिन्न जातजातिका मौलिक परिकार तथा होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, क्याफे, स्कुल र कलेजका गरी ५० वटा स्टल रहनेछन् । महोत्सवमा खानाका परिकारको प्रदर्शनी तथा बिक्रीसँगै राष्ट्रिय र स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन् । प्रवेश निःशुल्क हुने महोत्सव दैनिक दिउँसो ४ देखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।
यसअघि कालिका पथमा सडक खाना महोत्सवका रूपमा हुँदै आएको कार्यक्रम यस वर्ष ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शौचालय तथा स्थानीयवासीलाई हुने असुविधालाई मध्यनजर गर्दै खुला मञ्चमा सारिएको अध्यक्ष खनालले बताए ।
महोत्सवका लागि अस्थायी संरचना, टेन्ट, विद्युत्, खानेपानी, शौचालय, सरसफाइ, सुरक्षा र सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । पाँच दिनमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।
खाद्य स्वच्छता र सुरक्षालाई प्राथमिकता दिँदै स्टल सञ्चालकलाई अभिमुखीकरण गरिएको पनि उनले बताए । सुरक्षाका लागि सीसीटीभी, निजी सुरक्षा कम्पनी, संघका सुरक्षाकर्मी र नेपाल प्रहरी परिचालन गरिनेछ भने दर्शकका लागि निःशुल्क घुम्ती तथा अस्थायी शौचालयको व्यवस्था गरिएको छ । महोत्सव अवधिमा रक्तदान र पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया गोष्ठीसमेत आयोजना गरिनेछ ।
शुक्रबार दिउँसो २ः३० बजे विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको र्‍याली निकालिने र अपराह्न ४ बजे बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय गरिएकाे छ ।