विगत तीन दशकमा नेपालीको औसत आयु १५.४ वर्षले बढेको छ । सन् १९९० मा ५८.१ वर्ष रहेको नेपालीको जन्मकालीन औसत आयु सन् २०२३ मा ७३.५ वर्ष पुगेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनअनुसार स्वास्थ्य सेवाको विस्तार, मातृ तथा शिशु स्वास्थ्यमा सुधार, सङ्क्रामक रोगको नियन्त्रण र सामाजिक–आर्थिक विकासका कारण नेपालीको औसत आयु बढेको हो ।
नर्वेको युनिभर्सिटी अफ बर्गनस्थित ‘बर्गन सेन्टर फर एथिक्स एन्ड प्रायोरिटी सेटिङ इन हेल्थ’ सँगको सहकार्य र नेपाल हेल्थ इकोनोमिक्स एसोसिएसनको प्राविधिक सहयोगमा तयार पारिएको प्रतिवेदनमा नेपालको जनस्वास्थ्य अवस्था र स्वास्थ्य सेवाको प्राथमिकताबारे विस्तृत विश्लेषण गरिएको छ ।
इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) को अध्ययनलाई उद्धृत गर्दै प्रतिवेदनले सन् १९९० मा ५८.१ वर्ष रहेको औसत आयु सन् १९९५ मा ६१.६, सन् २००० मा ६५.२, सन् २००५ मा ६८.१ र सन् २०१० मा ७०.६ वर्ष पुगेको उल्लेख गरेको छ । त्यसैगरी सन् २०१५ मा ७१.५, सन् २०२० मा ७२.२ हुँदै सन् २०२३ मा ७३.५ वर्ष पुगेको हो । प्रतिवेदन अनुसार सन् १९९० देखि २०१० सम्मको २० वर्षमा औसत आयु १२.५ वर्षले बढेको थियो भने त्यसपछिको १३ वर्षमा २.९ वर्ष वृद्धि भएको छ ।
औसत आयु बढ्नुमा मातृ तथा शिशु मृत्युदरमा आएको गिरावटले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । सन् १९९६ देखि २०२२ सम्म मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा ५३९ बाट घटेर १५१ मा झरेको छ । यसैगरी प्रति एक हजार जीवित जन्ममा शिशु मृत्युदर ७९ बाट २८ र नवजात शिशु मृत्युदर ३९ बाट २१ मा झरेको प्रतिवेदनमा उल्लेख छ ।
तर, औसत आयु बढेसँगै नेपालको रोगको प्रकृति र स्वास्थ्य चुनौती पनि बदलिएको छ । सन् १९९० मा सङ्क्रामक, मातृ, नवजात तथा पोषणसम्बन्धी रोग प्रमुख स्वास्थ्य चुनौती रहेकामा सन् २०२३ मा नसर्ने रोग प्रमुख बनेका छन् ।
नेपालमा भएका कुल मृत्युमध्ये ७०.२ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएका छन् । मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट २७.४ प्रतिशत, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगबाट १६ प्रतिशत र क्यान्सरबाट ९.५ प्रतिशत मृत्यु भएको छ ।
प्रदेशगत रूपमा पनि नसर्ने रोगको भार सबैभन्दा बढी देखिएको छ । मधेशमा ५४.६ प्रतिशतदेखि कोशीमा ६६.९ प्रतिशतसम्म रोग भार नसर्ने रोगका कारण रहेको प्रतिवेदनमा उल्लेख छ । ज्येष्ठ नागरिकको हिस्सा बढी रहेका गण्डकी, कोशी र बागमतीमा समग्र रोग भार उच्च देखिएको छ ।
औसत आयु बढे पनि स्वास्थ्य सेवामा पहुँच र आर्थिक सुरक्षाको अवस्था भने कमजोर रहेको प्रतिवेदनले देखाएको छ । सन् २०२३ मा नेपालको विश्वव्यापी स्वास्थ्य पहुँच सेवा सूचकाङ्क ५८ रहेको छ । त्यस्तै, कुल चालू स्वास्थ्य खर्चको ५९.४ प्रतिशत नागरिकले आफ्नै गोजीबाट बेहोर्नुपरेको छ भने स्वास्थ्य क्षेत्रमा सरकारको आन्तरिक लगानी जीडीपीको करिब १.९ प्रतिशत मात्रै छ ।
प्रतिवेदनमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मातृ, नवजात तथा बाल स्वास्थ्य र सङ्क्रामक रोग नियन्त्रणमा प्रगति भए पनि नसर्ने रोगको बढ्दो भार तथा स्वास्थ्य उपचारमा नागरिकको आर्थिक बोझ चुनौतीका रूपमा रहेको बताएकी छन् । बदलिँदो स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न र सन् २०३० सम्म विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्ने लक्ष्यसहित मन्त्रालयले प्रमाणमा आधारित आधारभूत स्वास्थ्य सेवा प्याकेजको प्राथमिकीकरण गरेको छ । परिमार्जित प्याकेजमा ११४ क्लिनिकल सेवा, ३६ स्वास्थ्य प्रवर्द्धन सेवा र ६० आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा समेटिएका छन् ।