कोरोना आशंकामा थापाको नियती अरुले भोग्नु नपरोस्

2.3K

कोरोना आशंकामा थापाको नियती अरुले भोग्नु नपरोस्

रामराज पोख्रेल /

विश्वभर कोरोना भाईरस (कोभिड १९) को महामारी छ । यहि महामारीको चपेटाबाट नेपाल पनि अछुतो नभएकाले मुलुकभर लकडाउन गरिएको छ । अहिलेसम्म कोरोनाको इतिहास हेर्दा वैदेशिक यात्राबाट आउने व्यक्तिहरु मार्फत नेपाल भित्रिएको छ । विश्वभरको पछिल्लो तथ्यांक हेर्दा संक्रमितको संख्या करिव सात लाख पुग्न लागेको छ भने ३२ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । त्यस्तै करिव डेढ लाख संक्रमित व्यक्तिलाई निको भईसकेको छ ।
विश्वभरको संख्या हेर्दा नेपालमा अहिलेसम्म ५ जनामा मात्रै संक्रमण देखिएको छ । जसमध्ये १ जनालाई निको भईसकेको र बाँकी ४ जना उपचाररत छन् । नेपालमा संक्रमण देखिएका सबै विदेशबाट आएका हुन् । चीनको बुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणले युरोपका अधिकांश मुलुकमा गम्भिर अवस्था सिर्जना गरेको छ । त्यस्तो अवस्था सिर्जना हुनुमा त्यहाँको राज्य प्रशासनको सुरुवाती मै संक्रमण प्रतिको गम्भिरताकै कमी भनेर विज्ञहरुले विश्लेषण गरेका छन् । स्वास्थ्य सेवाको हिसावले अमेरिका र युरोपका विकसित मुलुकमा मानिएका ईटाली, स्पेन विशवमै अब्बल मानिन्छन् । तर कोरोना भाईरसको नियन्त्रणमा परेको समस्यालो विश्वभरका वैज्ञानिकहरुलाई नै स्तब्ध पारेको छ ।
यस्तो गम्भिर अवस्था विश्वभर हुँदा दुई ठूला मुलुक उत्तरमा चीन र दक्षिणमा भारतसंग खुला सिमाना भएको नेपालमा अहिले लकडाउनको अवस्था छ । लकडाउन गरिएपनि आम नागरिकले राम्रोसंग बुझ्न नसक्दा र स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारका प्रतिनीधिहरुले समेत नागरिकलाई बुझाउन नसक्दा समस्या आईरहेको छ । र तीन तहका सरकारका काम कारवाहीले समेत जनतामा थप भ्रम सिर्जना गराएको छ ।
यस्तो विषम परिस्थितीमा तीनै तहका जनप्रतिनीधि, सामाजिक अगुवा, राजनीतिक दलका अगुवा सबैले लकडाउनको समयमा अपनाउनु पर्ने सजगताका बिधि प्रकृयालाई सरल र सहज तरिकाले टोलटोलमा लैजानु पर्नेथियो तर लगिएन । अझै समय छ, त्यसकालागि ।
लकडाउन सुरु भएपछि नागरिकलाई क्वारेनटाईनमा बस्न, सेल्फ आईसोलेसनमा बस्न, आईसोलेसनमा राख्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरिएको छ । तर यी शब्द नेपाली जनताकालागि विल्कुलै नयाँ भएकाले बुझ्न सकेका छैनन् । तसर्थः कोरोना भाईरस नियन्त्रणकालागि सबैभन्दा उत्तम विधि मानिएको लकडाउनलाई सफल बनाउन नागरिकलाई बुझाउन जरुरी छ । त्यसतर्फ तीन तहकै सरकारका जनप्रतिनीधि, सामाजिक अगुवा, राजनीतिक दलका अगुवा, कर्मचारी लाग्नुपर्छ ।
लकडाउन पश्चात आमनागरिकले सुनेका यी शब्द र तीनका कामका बारेमा चिकित्सकहरुको रायका आधारमा केही बुँदा तयार गरिएको छ ।
क्वारेन्टाईन ः यसको काम र नामका बारेमा सामान्य रुपमा पहिलेदेखि नै सुनिँदै आएपनि आम नागरिकका दिमागमा कोरोनाको महामारी पश्चात मात्रै परेको हो । खासगरी यो अन्य रोग र समस्यासंग पनि सम्बन्धित भएतापनि कारोना भाईरसको संक्रमण विश्वभर फैलिएको र बिदेशबाट नेपालमा भित्रिएकाले बिदेशबाट स्वदेशमा भित्रिने जो कोहीलाई पनि १५ दिन क्वारेन्टाईनमा अनिवार्य राख्नुपर्ने बनाईयो । तर त्यसको कार्यान्वयनमा गम्भिर समस्या देखिएको छ । खासगरि कोरोनाका लक्षण नभएका सामान्य व्यक्ति जो बिदेशबाट आएका छन्, तीनीहरुलाई स्वदेशमा भएका आफन्त वा अन्य जोसुकै व्यक्तिको सम्पर्कमा नजाउन र समस्या नआओस भनेर निश्चित ठाउँमा अलग्गै राख्नु हो । तर बुझ्न र बुझाउन नसक्दा समस्याले विकराल रुप लिएको छ ।
आईसोलेसन ः क्वारेनटाईनमा राखिएका र अन्य व्यक्तिलाई कोरोनासंग मिल्दा लक्षण देखिएको खण्डमा आईसोलेसनमा राखिन्छ । स्वाव परिक्षण नगर्दासम्म समस्या थाहा नहुने भएकाले लक्षण देखिएकै भरमा आईसोलेसनको नाममा सबैलाई एउटै ठाउँमा राखिनु हुँदैन । अस्थायी रुपमा बनाईएका आईसोलेसन वार्डहरुमा मापदण्डको कुनैपनि पालना नगरि सामान्य र जटिल लक्षण देखिएका सबैलाई एउटै ठाउँमा राखिएको छ, जुन गम्भिर लापरवाही हो । सामान्य मापदण्डको पालना गर्ने हो भने पनि एक जना बिरामीलाई एउटा अलग्गै कोठा र शौचालय हुनु जरुरी छ । यदि कोरोनाको संक्रमित हो भने त शरीरको चाल (मुटु र नाडीको गति तथा अक्सीजनको मात्रा) देखाउने मोनिटर र मेसिनरी प्रकृयाबाट शरीर सञ्चालन गर्न भेन्टिलेटर हुनुपर्छ ।
तर ती कुनैपनि साधनहरु नहुँदा सामान्यदेखि जटिल खालका लक्षण देखिएका जति सबैलाई एउटै ठाउँमा राख्ने र चिकित्सक र स्वास्थ्यकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षाका सामान (पिपिई) नहुँदा उनीहरु बिरामीको नजिकै नै नजाँदा मनोबैज्ञानिक रुपमा नै बिरामी हतोत्साहित हुने अवस्था सिर्जना भएकाले नागरिकले आफूलाई परेको समस्या लुकाउन बाध्ये भएका छन् र कोरोनाको त्रासमा अन्य समस्याले व्यक्तिको अकालमै ज्यान जाने खतरा देखिएकाले जतिसक्दो चाँडो सहज गराउनु पर्ने देखिन्छ ।
सेल्फ आईसोलेसन र सोशल डिस्टेन्सन (सामाजिक दुरी) ः यी शब्द पनि आम नेपालीकालागि नौला हुन् । हाम्रो पुरानै बानी जता भिड छ, जहाँ गफगाफ बढी हुन्छ, त्यतै जाने, तर त्यसबाट सचेत अर्थात टाढा रहनु र आफ्नो सुरक्षा आफैले गर्नु, एक व्यक्तिबाट अर्को व्यक्तिमा भेट्दा वा कुरा गर्दा कम्तिमा एक मिटरको दुरीमा रहनु भन्ने हो । तसर्थ सेल्फ आईसोलेसनले घरमै बसेर आफू सुरक्षित हुनु भनेको हो भने सोशल डिस्टेन्सनले एक अर्काबिच भेट हुँदा वा सामान लिँदा दिँदा अन्य कुनै काम गर्दा एक अर्का बिचमा नछोईकन कम्तिमा एक मिटर टाढाबाटै काम गर्नु भनिन्छ ।
यसरी लकडाउनको पालना र यसपश्चात सरकारका तर्फबाट तयार गरेका बिधि र प्रकृयामा अपनाईएका लापरवाहीले सर्वसाधारणले उपचार नपाएर अकालमै मृत्युवरण गर्नुपर्ने गम्भिर अवस्था आउने निश्चित छ । लापरवाहीकै कारण आईतबार मात्रै रुपन्देहीको बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारकै क्रममा एक जनाएको ज्यान गएको छ । यद्यपी उनको रिपोर्ट नेगेटिभ आईसकेको छ । कोरोनाको आशंका गरिएकै कारण उनले सामान्य ज्वरोको उपचार पाउन सकेनन् । चैतको १३ गते अस्पतालमा आएका उनको १६ गतेसम्म पनि स्वाव परिक्षण गर्न नपठाईनु गम्भिर लापरवाही मात्रै नभएर अपराध हो । यसले बिरामीको पहिचान नगरिकनै सामान्य लक्षणकै भरमा कोरोनाको नाममा आईसोलेसनमा राख्ने काम गर्दा उनले जस्तै अन्य कैयौंले अकालमा ज्यान गुमाउनु पर्ने निश्चित छ ।
तसर्थ तीनै तहका सरकारले अस्थायी अस्पताल बनाएर प्रचारका लागि मात्रै काम नगरी आफ्नो गाउँ नगर प्रदेश भित्र रहेका सरकारी तथा नीजि अस्पतालहरु, मेडिकल कलेजहरुलाई कोरोना नियन्त्रणमा नआउँदासम्म आफ्नो मातहतमा लिने तथा चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामा बिशेष ध्यान दिएर सञ्चालन गर्नुपर्ने अहिलेको उत्तम बिकल्प हो । अन्यथा स्थानीय, प्रदेश र संघीय सरकारले कोरोना नियन्त्रणका नाममा अस्थायी संरचना बनाउने प्रयास गर्दागर्दै महामारीले भयावह रुप लिने निश्चित छ ।