रामराज पोख्रेल /
वैदेशिक यात्राबाट स्वदेश फर्किएका जो कोहीलाई पनि कोरोना भाईरस संक्रमितको शंका गर्ने प्रबृत्तिले समस्या भयावह हुने संकेत देखिएको छ । जसको गतिलो प्रमाण रोजगारीका लागि दुबई गई नेपाल आएका पाल्पा रिब्दीकोट घर भई सैनौमना ४ मा अस्थायी बसोबास गर्ने ३४ वर्षीय बाबुराम थापाको उच्च ज्वरोकै कारण उपचार नपाई मृत्यु हुनुलाई लिन सकिन्छ ।
दुबईबाट घर आएका थापा आफूलाई ज्वरो आएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा आए पश्चात कोरोना भाइरस संक्रमणको आशंकामा बुटवल उपमहानगरपालिकाले बुटवल धागो कारखाना भित्र बनाएको कोरोना बिशेष अस्थायी अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरियो । चैत १३ गते भर्ना गरिएका थापाको चैत १६ गते आईतबार बिहान सम्म आशंका गरिएको कोरोना भाईरस छ छैन एकिन गर्नकालागि स्वाव परिक्षण गरिएन । जव थापा थप सिरियस भए तव मात्र स्वाव निकालियो र काठमाण्डौ पठाईयो । स्वाव पठाईएको केही घण्टामै थापाको निधन भयो ।
थापाको निधन पश्चात बिभिन्न सञ्चार माध्यममा र सामाजिक सञ्जालमा कोरोनाको आशंका गरिएका व्यक्तिको मृत्यु भएको समाचार आईरहे । यसरी समाचार आईरहँदा मुलुकभर झन त्रास फैलिन स्वाभाविक नै हो । तर स्वाव परिक्षणकालागि पठाईएको अर्कोदिन अर्थात चैत १७ गते सोमबार कोरोना भाईरसको संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको समाचार सामाजिक सञ्जालमा आए ।
बिदेशबाट आएकै भरमा थापाले जसरी सामान्य ज्वरो आउँदा पनि उपचार नपाएर मृत्यु हुनु र शंकाकै भरमा क्वारेन्टाईनकालागि पनि उपयुक्त नहुने जस्तो मापदण्डबाट बनाईएको कोरोना आईसोलेसन वार्ड नागरिकको आँखामा छारो हाल्ने मात्रै काम हो भन्दा फरक पर्दैन । बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहयोगमा निर्माण गरेको आईसोलेसनमा कुनैपनि मापदण्ड नभएको यसलाई क्वारेन्टाईनमा रुपान्तरण गरि जिल्ला भित्रै सरकारी, नीजि तथा मेडिकल कलेजहरु केही समयलाई सरकारले लिएर आईसोलेसन सेन्टर बनाउनु पर्ने धारणा व्यापक रुपमा उठेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र खनालले अहिलेको अवस्था आईसोलेसन भन्दा रुघा, खोकी, ज्वरोको लागि अस्पतालको खाँचो भएको भन्दै आफ्नो फेसबुक पेजमा मंगलबार बिहान सार्वजनिक गरेका छन् भने तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले पनि आफ्नो फेसबुक पेजमा भनेका छन्–‘कुनैपनि नयाँ स्थानमा आईसोलेसन केन्द्र होईन, त्यहा क्वारेन्टाईन बनाऔं र मौजुदा अस्पताललाई नै कोरोना अस्पतालको रुपमा रुपान्तरण गरौं ।’
रुपन्देहीका यी दुई जनप्रतिनीधिले राखेका धारणाले पनि स्प्रष्ट हुन्छ, जनताका प्रतिनीधिहरु नै के गर्ने के नगर्ने भन्ने कुराको अन्यौलमा छन् । अहिले संघीय, प्रदेश र स्थानीय गरि तीन तहका सरकार छन् मुलुकमा, तर विश्वभर फैलिएको महामारीले नेपाललाई आक्रान्त पारिसक्दा पनि ठोस कदम चाल्ने तर्फ कुनै पहल नहुँदा नागरिकमा निराशा र त्रास झनझन् बढीरहेको छ । यस्तो गम्भिर परिस्थितीमा ठोस कदम चाल्न नसकेको खण्डमा चिकित्सक र स्वास्थ्यकर्मीले अहिले जे जती र जसरी काम गरिरहेका छन्, त्यती पनि नहुने अवस्था नआउला भन्न सकिँदैन । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले यस्तो महामारीको अवस्थामा जसरी चिकित्सक र स्वास्थ्यकर्मीले काम गरेका छन्, त्यस अनुसार जसभन्दा अपजस बढी व्यहोर्नु परेको भन्दै आईसोलेसनका लागि मापदण्ड भन्दा पनि जेजस्तो संरचना छ त्यसमै आफूहरु काम गर्न बाध्य भएको बताउनु हुन्छ ।
डा. खनालले भौतिक संरचना र मापदण्ड के कत्रो बनाउने भन्ने कुरा सरकार र विज्ञको भएको बताउँदै यस्तै अवस्था भईरहने हो भने कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मी काम गर्ने मुडमा छैनन् । त्यसकालागि वातावरण बनाईदिने काम सरकारले गर्नुपर्छ । संघीय सरकारको मातहतमा शक्तिशाली प्रदेश सरकार छ । शक्तिशाली स्थानीय तहहरु छन् । तर महामारीकै कारण भयावह संकट निम्तिने संकेत देखिए पनि आफ्नो क्षेत्राधिकार भित्रका अधिकारलाई प्रयोग गर्दै सरकारी र नीजि अस्पतालहरु र मेडिकल कलेजहरुलाई थप व्यबस्थित गराउँदै आईसोलेसन सेन्टर बनाउने र त्यहा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विश्वासको वातावरण सिर्जना गर्ने दायितवबाट प्रदेश र स्थानीय सरकारहरु पन्छिनु कदापी मिल्दैन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट नेपालमा ५ जना संक्रमित भईसकेका छन् । कोरोनाका लक्षणहरु देखिएका बिरामीलाई आईसोलेसनमा राखेर उपचार गर्नुपर्ने हुन्छ र ती आईसोलेसन वार्डमा एक बिरामी एक कोठा सिंगल शौचालय, मोनिटर (शरीरको चाल थाहा पाउने उपकरण), भेन्टिलेटर जस्ता न्यूनतम मापदण्ड हुनुपर्छ । तर बुटवलमा बनाईईएको आईसोलेसनमा एउटै हलमा आलमुनियमले पार्टेसन गरेर बनाईएका केवल एक मिटर दुरी फरकका बेडमा राखेर सामान्य र जटिल खालका लक्षण देखिएका सबै बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्नुले झन संकट आउने निश्चित छ ।