कोरोना पिडितलाई प्याकेज सहित कृषिमा आगामी बजेटको प्राथमिकता

कोरोना पिडितलाई प्याकेज सहित कृषिमा आगामी बजेटको प्राथमिकता

आगामी आर्थिक वर्षका लागि सरकारले कोराना महामारी पिडितलाई प्याकेजमा सम्बोधन गर्नेगरी कृर्षिलाई प्राथमिकता दिएर बजेटको तयारी गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण मुलुकको अर्थतन्त्रमा पारेको प्रभावलाई हटाउने गरी आर्थिक गतिबिधि अगाडी बढाउने र कृषिलाई प्राथमिकता साथ आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तयारी भएको आईतबार बसेको संघीय संसदमा बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराउनु भएको हो ।
मुलुकमा उत्पन्न हुने बेरोजगारी समस्या र विदेशमा रोजगारी गुमाएर फर्कने युवालाई रोजगारीमा समावेश गराउन कृषि, साना घरेलु र सेवा क्षेत्रमा लगाइने गरी कार्यक्रम आउने मन्त्री खतिवडाले जानकारी दिनुभयो । उहाँले जनताको विकासको चाहना, राज्यका निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटल गायतलाई ध्यानमा राखेर आगामी वर्षको बजेट निर्माण हुने बताउनु भयो ।
अर्थमन्त्री डा. खतिवडाको अनुसार सरकारले राष्ट्रिय गौरव तथा सञ्चालनमा रहेका ठूला आयोजनाका लागि स्रोत सुनिश्चित गरिएको र उत्पादनका साधनमा सबै नागरिकको पहुँच पुग्नेगरी बजेटको प्राथमिकता तय गरिएको छ । त्यस्तै स्वास्थ्य प्रणाली सवल बनाउने र त्यसका लागि आवश्यक संरचना निर्माणमा बजेट केन्द्रित हुने उहाँले जानकारी गराउनु भयो ।
कोरोनाबाट बढी प्रभावित पर्यटन सहितका सेवा क्षेत्रलाई पुनरुत्थान गर्नको लागि आवश्यक पर्ने राहत प्याकेज समेत समेटेर बजेटमा ल्याउने तयारी भइरहेको जानकारी गराउँदै उहाँले आन्तरिक पर्यटनलाई बढावा दिँदै यो क्षेत्रमा चहलपहल बढाउने र हवाई पूर्वाधार निर्माणलाई समेत उत्तिकै प्राथमिकता दिइने बताउनु भयो ।
स्रोतको जोहो गर्ने सम्बन्धमा राजस्व प्रणालीमा आन्तरिक आयलाई प्राथमिकता दिइने, कर परिपालनालाई बढावा दिइने, आन्तरिक राजस्वमा करको दायरा बढाउने समेत उहाँले जानकारी गराउनु भयो । कृषि क्रान्तिका लागि स्रोतसाधन परिचालन गर्ने, कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउने लगायतका कार्यक्रम बजेटमा समावेश गर्न लागिएको उहाँले जानकारी गराउनु भयो ।

Share This
  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares