बुटवल । प्रदेश ५ मा आज(मङगलवार) भेटिएका १७ जना कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ । आज(मङगलवार) रुपन्देहीका ९ र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । कपिलवस्तुका ८ जना नै यशोधरा गाउँपालिकाका रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । पोजेटिभ देखिएका लुकिछिपी नेपाल प्रवेश गरी क्वारेन्टाइनमा बसेका थिए । रुपन्देहीमा भेटिएका ९ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका रहेको निर्देशनालयले जनाएको छ । उनीहरु पनि भारतबाटै लुकेर आइ क्वारेन्टाइनमा बसेका थिए । प्रदेशमा आज थपिएका १७ सहित संक्रमितको संख्या ७० पुगेको छ ।
