बुटवल । भारतीय सीमासगँ जोडिएको रुपन्देहीका सात स्थानीय तहमा आवगमन बन्द गर्ने निर्णय गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिती र सीमा क्षेत्रका स्थानीय तहका अध्यक्षहरुको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लाको हुलाकी राजमार्ग देखि दक्षिण तर्फका स्थानीय तहका क्षेत्रहरुमा जेठ ५ गते सम्म आवगमन बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासान कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिनुभयो ।
हुलाकी राजमार्गदेखि दक्षिण तर्फ जिल्लाको रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका पर्दछन्। यी सबै भारतसगँ जोडिएका स्थानीय तह हुन्।
रुपन्देहीमा पुष्टि भएका १६ जना सबै संक्रमित सीमावर्ती मर्चवार र लुम्बिनी क्षेत्रकै हुन्। सबै संक्रमित भारतबाट राति लुकेर मुलुकमा भित्रिएका हुन्। अझै भित्रिने क्रम जारी छ । सीमावर्ती क्षेत्रमा संक्रमण देखिने थालेपछि संक्रमणलाई फैलिन नदिनका सीमावर्ती क्षेत्रमा आवतजावतमा रोक लगाइएको सूचना अधिकृत थापाले बताउनु भयो ।
