रुकुम घटना : दोषीलाई कारबाहीको माग राख्दै बुटवलमा प्रदर्शन

1.3K

रुकुम घटना : दोषीलाई कारबाहीको माग राख्दै बुटवलमा प्रदर्शन

बुटवल । अन्तरजातीय प्रेम सम्बन्धका विषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको विषयलाई लिएर बुटवलमा पनि विरोध प्रर्दशन भएको छ । रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा हाम फालेर मृत्यु भएको घटनाको विषयमा दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै स्फूर्त रुपमा दलित नागरिक अगुवा, मानवअधिकारकर्मी र आम नागरिकहरुको सहभागितामा जाजरकोटका नवराज विक सहितको नरसंहारको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहितको विरोध प्रदर्शन गरिएको हो ।


प्रदर्शनमा उनीहरुले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई ढाकछोप नगर्न माग गरेका छन् । उनीहरुले अन्तरजातीय विवाहका कारण दलितको मृत्यु कहिलेसम्म भन्दै सरकारलाई प्रश्न गरेका थिए । रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? दलितमाथिको विभेद अन्त्य गर, रुकुम घटना पिडितलाई न्याय दे, अजित मिजार, नवराज विक र रुपन्देहीका अङगिरा पासीको हत्या कहिलेसम्म ? जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आम नागरिकहरु प्रदर्शनमा उत्रेका थिए ।

बुटवल पुष्पलालपार्कको मुख्य सडक क्षेत्रमा करिव १ सय मिटरको क्षेत्रसम्म सामाजिक दुरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्विकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारले ध्यानआकर्षण गराए ।


उक्त अवसरमा पश्चिम रुकुम घटनाका सन्दर्भमा बोल्दै संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले रुकुम घटना जातीयताकै कारण भएको दक्षिण एसियाकै ठूलो नरसंहार भएको भन्दै अब अन्याय सहन नसक्ने बताए । उनले दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएपछि बुटवलका आम नागरिक स्वतस्फूर्त रुपमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रनुपरेको बताए ।


संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी जनयुद्धको चौरजहारीमा सामूहिक रुपमा हत्या गरिनु निकै ठूलो लज्जाको बिषय भएको उनले बताए । उनले रुकुम घटना पासविक घटना भएको अवस्थामा राजनितिक संरक्षण भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।


उक्त अवसरमा दलित अभियान्ता नरबहादुर सुनारले दलित समुदायमाथि रुकुम पश्चिमको घटनाले मानव हुनुकै अर्थ बिर्साएको भन्दै दोषीले न्याय नपाउदासम्म निरन्तर आन्दोलन गर्ने जानकारी दिए । प्लेकार्ड सहितको प्रर्दशनमा दलित नेता जोगलाल विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, दलित अगुवाहरु जुद्ध विश्वकर्मा, हरिओम विश्वकर्मा, रामकुमार रणपाल, एमवि विश्वकर्मा, लोक बहादुर नेपाली, दीपक विश्वकर्मा, मनु खड्का लगायतको सहभागिता थियो ।


भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिइसकेको छ । भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिक बेपत्ता छन् । बेपत्ता रहेका तीन जनाको खोजीका लागि तालिम प्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ ।


घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानविन समिति समेत गठन गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केटी पक्षका २० जनाकाविरुद्ध किटानी जाहेरी परेको छ । यसै गरी गत शनिबार नै रुपन्देही देवदह ११ की एक दलित बालिकाको हत्या भएको भन्दै उक्त घटनाको समेत छानविन गरि दोषीलाई कारवाही गर्न प्रदर्शनमा माग गरिएको थियो ।