तिलोत्तमा हत्याकाण्डका अभियुक्त सार्वजनिक

944

तिलोत्तमा हत्याकाण्डका अभियुक्त सार्वजनिक


बुटवल । रूपन्देहीको तिलोत्तमा १० मैनहियास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा ५ जनाको हत्याका अभियु्क्तलाई बुधबार सार्वजनिक गरिएको छ । तिलोत्तमा १० मैनहियास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा कार्यरत ३ जना र स्थानीय २ जना गरी ५ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका झसेन्द्र सिंजालीलाई सार्वजनिक गरिएको हो ।

अभियुक्तको बयान अनुसार आफूलाई होच्याएको र अपहेलना गरेका कारण फारममा काम गर्ने ३ जना र अन्य दुईजनालाई लाठी तथा कोदालो प्रयोग गरी हत्या गरेका थिए । अभियुक्तले ५ जनालाई लगातार फरुवा प्रहार गर्दा पनि कसैले चाल नपाउनु, घटनास्थलमा छरप्रष्ट नभएर एकै ठाउँमा मारेर तन्नाले छोपेको अवस्थामा शव भेटिनु लगाएतका कारणले भने घटनामा थप अनुसन्धान आवश्यक रहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अभियुक्तले हत्या स्विकारेको जानकारी दिएको छ ।

मारिएकाहरुले आफूलाई व्यक्तिगत आक्षेप लगाउने, एक्लो बनाउने र चरित्र हत्या समेत गर्ने गरेकाले विक्षिप्त भएर आफैले हत्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उरिक्षक राजकुमार बैदवारले बताए । प्रहरीले श्रीमतीले छाडेपछि हत्यामा संलग्न भनिएका सुर्खेतका झसेन्द्र सिंजालीको मानसिक अवस्था कमजोर रहेको र विक्षिप्त भएपछि ५ जनाको हत्या गरेको जनाएको छ । फरुवाले प्रहार गरि हत्या गरिएकाहरुमा पशुफर्मकै कामदार माधव मुसहर उनका श्रीमती जानकी, पोखराज मुसहर, तथा कामदार पोखराज मुसहरका साथी करण चौधरी र आशिश चौधरी रहेका थिए।

घटनाको प्रकृति र मृतकहरुलाई नजिकबाट नियालिरहेका छिमेकीहरुले भने हत्यालाई रहस्मय बताएकाछन् । बेलुका सुत्ने बेलामा छुट्टै कोठामा सुतेका माधव मुसहर र उनकी श्रीमती जानकी मुसहरको समेत एकैस्थानमा हत्या भएपछि घटनालाई स्थानीयले रहस्यमय मानेका छन् । प्रहरीले सबैले सँगै मदिरा सेवन गरेर सँगै सुतेको र राती सिंजालीले उठेर फरुवाले प्रहार गरेको बताए पनि अन्य पुरुषहरुसँगै लहरै श्रीमतीलाई सुताउने अवस्था कसैको पनि हुन नसक्ने स्थानीयको विश्लेषण छ । प्रदेश प्रहरी कार्यालयले घटना लगत्तै प्रदेश प्रहरी प्रवक्ता बैदवारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । घटनाका बारेमा थप सुष्म रुपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।