अन्तर जातीय प्रेम नै चौरजहारी घटनाः अधिकारकर्मी तथा सञ्चारकर्मीको प्रतिवेदन

1.1K

अन्तर जातीय प्रेम नै चौरजहारी घटनाः अधिकारकर्मी तथा सञ्चारकर्मीको प्रतिवेदन


बुटवल । रुकुम (पश्चिम) चौरजहारी नगरपालिका ८ सोती घटना नवराज विक र सुष्मा मल्ल वीचको अन्तरजातीय प्रेमका कारण घटेको बुटवलवाट गएको अधिकारकर्मी तथा सञ्चारकर्मीद्वारा तयार पारिएको स्थलगत अध्ययन÷अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।शुक्रवार प्रतिवेदन सार्वजनिक गदै सुष्माका अभिभावकले दलित युवालाई स्विकार गर्न नसकेकाले योजना बद्ध आक्रमणमा उत्रिएको देखियो ।


बुटवलवाट गएको स्थलगत अध्ययन, अनुगमन टोलीमा संविधानसभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल , बरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईं, अधिवक्ता शिव गौडेल, बरिष्ठ पत्रकार माधव नेपाल र पत्रकार विनोद परियार पत्रकार रहनु भएको थियो ।


जेठ १० गते नवराज विकलाई सुष्मा मार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरुको योजनामा भएको क्रुर र बर्बरतापूर्ण तवरले नृशंसतापूर्वक ६ जना युवाको सामूहिक हत्या भएको र अन्यले कुटाई खाएको तथ्यहरुले प्रष्ट्याउँछ । स्थलगत अध्ययन अवलोकन र अनुगमनबाट प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीवीच घटनाबारे छलफल अन्तरक्रिया गर्दा, घटना जातीय भेदभाव छुवाछुत जस्तो अमानवीय कुप्रथाको कारणले घटेको देखियको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


चौरजहारी सोतीगाउँको घटना भवितव्य हो भन्दै यस्तो जघन्य अपराधलाई सामान्यीकरण गर्नका लागि प्रभावशाली व्यक्ति÷निकाय÷समूहहरु घटना घटेकै दिनदेखि नै केन्द्रदेखि स्थानीय तहसम्म सक्रिया देखिन्छ, जुन दुर्भाग्यपूर्ण छ । कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका यूवाहरुलाई गाउँमा शान्तिपूर्ण रुपमा छलफल गर्न सक्ने आधार हुँदा हुँदै वडाअध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी साघांतिक आक्रमण र हत्या गरी भेरीमा फालेको घटनाका पीडित प्रत्यक्षदर्शीहरुको बयानबाट पुष्टि हुन्छ ।

घटनामा नवराजसँगै गैरदलित समुदायका यूवाहरु गोविन्द शाही र गणेश बुढामगर मगरको समेत क्रुरता पूर्वक हत्या गर्नुमा दलित नवराजलाई साथ दिएको कारण नीजहरुलाई पनि कुटपीट गरीहत्या गरिएको देखिन्छ ।अपराधिलाई राजनैतिक संरक्षण हुने गरेकाले दण्डहिनता मौलाउँदै गएका कारण यो घटना घटाउन आपराधिक मानसिकताले ग्रस्त समूह उत्प्रेरित भएको देखिन्छ । आक्रमणकारीले एकोहोरो रुपमा ति यूवाहरुमाथि धारिला हतियार, तिखा ढुंगाहरुले प्रहार गर्दै माथिबाट तल भेरी नदी तर्फ लखेट्दै गएका थिए । ती यूवाहरुले कुनै पनि प्रतिवाद गरेको देखिदैन ।

उनीहरुले आफूहरुलाई नमार्न, निरीहता पूर्वक अनुनय विनय गर्दछन तर गाउँलेको जत्थाभित्रका आक्रमणकारीले निर्ममता पूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएको÷थिचेको तथ्यले प्रमाणित गर्दछ ।
केही घाईते यूवाहरु बाँच्नका लागि भेरीको भंगालोमा हाम फालेका तर पारीपट्टीबाट आएका आक्रमणकारीले ढुंगा प्रहार गरेकाले नदी तर्न नसकि मृत्यूवरण गर्नुपरेको कारुणिक अवस्था तथ्यगत रुपमा प्रमाणित भएको छ । आक्रमणमा प्रत्यक्ष संलग्नता देखिएका वडाअध्यक्ष डम्बर बहादुर मल्लले लकडाउन उल्लघन गर्न आएका यूवाहरुलाई पक्राउ गर्न भनि प्रहरीलाई समेत गलत सूचना दिएका छन् ।

घटना स्थलमा पुगेको प्रहरीले कुनै खालको प्रतिबाद नगरी आक्रमणबाट घाइतेहरुलाई बचाई सुरक्षाका लागि इप्रका चौरहजारीमा लगेको देखिन्छ । प्रहरीले घाईतेको उपचारपछि घटनाको वास्तविकता खुलेको देखिन्छ ।


यसले घटना योजनाबद्ध रुपमा भएको भन्न सकिन्छ ।
घटना घटेको दिन १० गतेराती नै नवराज विकको शव भेटिएको छ । तर, यति हुँदा पनि प्रहरीले अन्य ५ जना जो वेपत्ता भएका थिए जानकारी हुँदा हुँदै पनि खोजी कार्य हुँदैन । यसमा वडाअध्यक्ष सहितको ठूलो संख्याका त्यहाँ आक्रमणमा उत्रेकाहरुलाई भेरीमा यूवाहरुलाई बगाएको कुरा जानकारी हुँदा पनि सोती गाउँका स्थानीयमा मानवीय संवेदना देखिदैन । उनीहरु घर गएर मस्त सुतेको देखिन्छ । प्रतिवेदनमा नेपाल कानुनी रुपमा विस २०२० सालको मुलुकी ऐनमै छुवाछुत मुक्त राष्ट्र घोषणा भयो ।


२०४७ सालको संविधान, २०६३ सालमा पुन जनआन्दोलपछि बनेको सरकारले छुवाछुतमुक्त राष्ट घोषणा गरेको छ । २०७२ को संविधानले सबै प्रकारको भेदभाव अन्त्य गरेको उल्ल् त्यस्तै जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ ले फौजदारी अभियोगमा मुद्धा चलाउने गरी कानुनी रुपमा दण्डनीय अपराध मानेर कारवाही गर्ने कानुन बनेको छ । नेपालको संबिधान २०७२ र फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ९ दफा १६६ समेतको प्रतिकुलको घटना प्रेम संम्बन्धमा कारण भएको देखिन्छ ।

तर, तत्कालिन सशस्त्र युद्धको उदगम थलो, जातीय छुवाछुत मुक्त घोषणा गरी जातीय विभेदमा नमूना जिल्ला भनिएको रुकुम पश्चिममा जातीय विभेदकै कारण आततायी र कलंकित घटना घटेकाले यो घटनालाई जातीय विभेदसँग सम्बन्धित नभएको भन्ने प्रमाणित गर्न केहि नेतृत्व वर्ग तल्लीन रहेको भन्ने पिडितको गुनासो छ । यदि त्यसो भएमा यो सिंगो मानवता विरुद्धकै ठूलो अपराधको ढाकछोप हुनेछ ।

समग्रमा यो घटना अन्तरजातीय प्रेम सम्बन्धबाट सृजित परिप्रेक्ष्यमा प्रतिसोधको भावनाले प्रेरित जत्थाद्धारा भएको आक्रमणका कारण घटन गएको देखिन्छ । पीडित पक्षका नवराज विक सहितका युवा र किशोरहरुमा पनि २० बर्ष नपुगी बिवाह गर्न पाइदैन भन्ने कानूनी ज्ञान र सचेतनाको अभावले १७ बर्षकी प्रेमीकालाई लिन जानुने दुखद घटना निम्ताएको देखिन्छ । नवराज बिकलेसाथीभाइ जुटाई प्रेमिकालाई लिन उनको घर भएको सोतीगाउँमा गएको अवस्था छोपी रीस–इवी साँधेर बसेकाहरुले नियोजित आक्रमण गर्न लकडाउन वहाना बनाएको देखिन्छ ।

अनुगमन टोलीको सुझावहरु

यो घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्विकार गरी ज्यानै जाने गरी आक्रमणमा उत्रेको हुनाले जातीय विभेदकै घटनाका रुपमा कानुनी कारवाही गर्नुपर्ने देखिन्छ । जातीय विभेदको मानसिकताले प्रतिसोधको भावना लिई समूहमा योजनाबद्ध रुपमा आक्रमण गरेको देखिएकाले संगठित अपराध अनुसार कारवाही अघि बढाउनुपर्ने देखिन्छ ।


यो घटना सम्बन्धमा संसदीय छानविन समिति गठन हुनु सकारात्मक रहेको छ । संसदीय छानविन समितिले दोषीहरुलाई कानुनी कारवाही गर्न र विभिन्न आवरणमा छुवाछुतलाई नै बढावा दिन खोज्नेहरुलाई निरुत्साहीत गर्ने गरी कार्य सम्पादन गर्नुपर्दछ । कानुनी सर्वोच्चता, विधिको शासन, न्याय र समानता कायम गरी संविधानमा उल्लेखित मौलीक हकलाइ कार्यान्वयन गर्न आवश्यक छ ।
सोही घटनाका पिडित परिवारलाई न्याय, राहत, क्षतिपूर्ती र घाईतेहरुको उपचारको सम्पूर्ण प्रवन्ध गर्नुपर्दछ ।

देशभरि सिलसिलाबद्ध रुपमा घटेका जातीय विभेदका घटनाहरुको एउटा कारण दण्डहिनताको निरन्तरता पनि हो । तसर्थ दण्डहिनताको कहालिलाग्दो सिलसिला अन्त्य हुनुपदर्छ । दोषी जो कोही भएपनि कानुन सम्मत दण्डीत हुनुपर्दछ । यस घटनालाई लिएर रुकुम (पश्चिम) जाजरकोट लगायत देशका कुनै पनि ठाउँमा कुनै पनि प्रकारको सामाजिक सदभाव – सहिष्णुता खलबलिने, द्वन्द्व सृजना हुने खालको वातावरण बन्न नदिन समयमै चनाखो हुनुपर्दछ । जातीय विभेद कानुनी रुपमा अन्त्य भएपनि व्यवहारमा अन्त्य नभएकाले त्यसको अन्त्यका लागि दीर्घकालिन योजना लागू गर्नुपर्दछ प्रतिवेदनमा भनिएको छ ।