‘‘जहाँ आवश्यकता त्यहाँ लायन्स’’

1.3K

‘‘जहाँ आवश्यकता त्यहाँ लायन्स’’

लायन्स क्लव इन्टरनेशनल संसारभर सञ्जाल फैलिएको एउटा सामाजिक संस्था हो । सामाजिक सेवामा समर्पित लायन्स क्लवले मानवीय सेवाका कामहरु गर्दै आएको छ । लायन्स क्वल अफ बुटवल युथले पनि लायन्स क्लवले लिएको उद्देश्य अनुरुप सामाजिक सेवामा समर्पित भएर लागेको छ । लायन्स क्लव के हो ? यसले के र कसका लागि काम गर्छ ? लगायतका बिषयबस्तुलाई समेटेर लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपक श्रेष्ठसंग गरिएको कुराकानीको सारसंक्षेप ।

लायन्स क्लव कस्तो संस्था हो ?

लायन्स क्लव इन्टरनेशनल संसारकै सबैभन्दा ठूलो विशुद्ध सामाजिक संस्था हो । यो संस्था विश्वभरी २१० भन्दा बढी देशहरुमा ४६ हजार क्लव र १४ लाख ५० हजार भन्दा बढी यसका सदस्यहरु रहेका छन् ।

क्लव स्थापना गर्नुको उद्देश्य के हो ?

हामीले समाज सेवा गर्ने उद्देश्यले विभिन्न क्षेत्रका ३५ जना साथिहरुको सक्रियतामा २९ जुलाई सन् २०१५ मा क्लव स्थापना गरेका थियौं ।

यो वर्ष तपाईको क्लवले के कस्ता कार्यक्रम गरेको छ ?

हामीले यो वर्ष पनि लायन्स अन्तर्राष्ट्रियको बिधि बिधानमा केन्द्रित रहेर कार्यक्रमहरु गरिरहेका छौं । नेतृत्व लिएर सामाजिक कार्यहरु गर्न पाउँदा छुट्टै आनन्दको महशुस भएको छ । यो वर्ष हामीले धेरै काम गर्न सफल भएका छौं । हामीले यो वर्ष २४ वटा क्याम्पबाट ११ हजार ४१७ जना मानिसहरुको मधुमेह परिक्षण गरेका छौं भने जनचेतनामुलक कार्यक्रम गरेका छौं । यही वर्ष नै ३५४ जनाको आँखा परिक्षण गरिएको थियो भने त्यसमा १२ जनालाई निःशुल्क चस्मा प्रदान र १४ जनालाई निःशुल्क रुपमा मोतियाबिन्दको शल्यक्रिया गरिएको थियो । त्यस्तै अनाथ आश्रममा खाद्यान प्रदान, बृक्षारोपण, सरसफाई र डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेका थियौं । हामीले क्यान्सर बिशेषज्ञद्वारा बिद्यार्थीहरुलाई क्यान्सर सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेका थियौं । यही वर्ष नै छात्रबृद्धि योजना, दन्तशिबिर, नारी सम्मान कार्यक्रम, उद्यमशिलता बिकास कार्यक्रम, नेतृत्व बिकास, मोटिभेस्नल कार्यक्रम, रक्तदान कार्यक्रमहरु निरन्तर रुपमा गरिएको छ ।

यो वर्ष कोरोनो भाईरस (कोभिड–१९) ले महामारीको रुप लिएको छ । तपाईको क्वलबाट कोरोना बिरुद्ध कस्तो भूमिका रह्यो ?

हामीले यो महामारीका नेपालमै पहिलो पटक बिपन्न परिवारलाई राहत वितरण गरेका थियौं भने दोस्रो चरणमा पनि अति बिपन्न, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई राहत वितरण गरेका थियौं । त्यसैगरी यस क्षेत्रमा पहिलो पटक बुटवलको नेपालगञ्ज रोडमा हातले नछाईकन साबुनपानीले हातधुने टंकि राखेका छौं । त्यसैगरी यस क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरुले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई औषधी सामाग्री दिएका थियौं । रक्तसञ्चार सेवा केन्द्र बुटवल, ईलाका प्रहरी कार्यालय बुटवल र पाँच नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई ‘के. वान. ९५’ मास्क प्रदान गरेका थियौं । त्यस्तै क्वारेन्टाईनमा बसेका व्यक्तिहरुलाई आवश्यक सामाग्रि सहयोग गरेका थियौं ।

केही वर्ष यता लायन्स क्लव गठन गर्न होड नै चलेको देखिन्छ । किन होला ?

मैले सुरुमै भनिसकें यो सञ्सारको सबैभन्दा ठूलो सामाजिक संस्था हो । सेवा गर्ने सहयोगी हातहरु धेरै भएकै राम्रो हो । क्वल गठन गर्न लायन्स अन्तर्राष्ट्रियको बिधानमा रहेर मापदण्ड पुरा भएमा मात्रै क्लव आधिकारिक मान्यता प्राप्त गर्दछ ।

लायन्स क्लवहरुले गरेका कामको मुल्यांकलन कसरी हुन्छ ?

क्लवले गरेका कार्यक्रमहरुको इन्टरनेशनल र डिष्ट्रिकमा रिपोर्ट पठाउनु पर्दछ । त्यसैको आधारमा वर्षको अन्तिममा राम्रो कार्य गर्ने क्लवलाई अवार्डद्वारा सम्मान हुने गर्दछ ।

तपाईको क्लवले पनि थुप्रै कार्यक्रमहरु गरेको देखियो । क्लवले अवार्ड पनि पाउला । कार्यक्रम गर्न बजेट कहाँबाट आउँछ ?

भनिन्छ कर्म गर फलको आश नगर, हामीले अवार्डको लागि कार्यक्रम गरेका होईनौं । तर पनि यो वर्ष मन्टिपल डिष्ट्रिकबाट अवार्ड पाउन सफल भएका छौं । बजेटको सन्दर्भमा हामी सदस्यहरुले रकम संकलन गरेर कार्यक्रमहरु गरेका छौं । मधुमेहको हकमा हामीले ‘डाईवेटिज ग्राण्ट’बाट केही रकम प्राप्त गरेका थियौं । यदि कुनै क्लवले कुनै प्रोजेक्टको प्रपोजल बनाई लायन्स अन्तर्राष्ट्रियमा पठाएको छ भने त्यो प्रोजेक्टको लागि चाहिने सामानहरु निःशुल्क रुपमा आउँछ ।

अन्तमा तपाईको सन्देश के छ ?

लायन्स क्लव सबै जातजाती, भाषाभाषी तथा धर्मावलम्बिहरुको साझा संस्था हो । जसको एउटै मात्रै उद्देश्य समाज सेवा हो । समाज सेवा गर्न चाहनेहरुलाई हामीले जहिले पनि स्वागत गर्दछौं । र मलाई आफ्ना भनाई राख्ने मौका दिनु भएकोमा धन्यवाद दिन चाहन्छु ।