लकडाउन अवधिमा प्रदेश पाँचमा दुर्घटनामा परि ६४ जनाले ज्यान गुमाए

1.2K

लकडाउन अवधिमा प्रदेश पाँचमा दुर्घटनामा परि ६४ जनाले ज्यान गुमाए

विश्वमा कारोना भाईरसको महामारी भित्रिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश पाँचमा ६४ जनाले दुर्घटनाका कारण ज्यान गुमाएका छन् । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिनकालागि गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो ।
प्रदेश पाँचका १२ जिल्लामा लकडान भएको ३ महिनाको अवधिमा २३५ वटा सवारी साधन दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा परि ३१२ जना घाईते भएको पाँच नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक डम्बर विश्वकर्माले जानकारी गराउनु भयो ।
प्रदेश कार्यालयमा सरुवा भई आएका प्रहरी उपरिक्षक विश्वकर्मा र प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेको पत्रकार परिचयात्मक कार्यक्रममा यो तथ्यांक उपलब्ध गराईएको हो ।
प्रहरीले उपलब्ध गराएको तथ्यांकमा प्रदेश पाँचमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या घटेको छ । चालु आर्थिक वर्षको असारको १० गतेसम्म ४५९ जनाको दुर्घटनामा परि मृत्यु भएको छ । अघिल्लो अर्थिक वर्षमा प्रदेश पाँचमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६२३ रहेको थियो भने त्यो भन्दा अघिल्लो वर्ष आर्थिक वर्ष ०७४/७५ मा ५२० थियो ।
त्यस्तैगरी चालु आर्थिक वर्षमा राजश्व संकलन पनि घटेको छ । ट्राफिक प्रहरीले प्रदेश पाँचमा लक डाउनको अवधिमा मात्रै ६० लाख १७ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको असार १० गतेसम्म ९ करोड ८४ लाख ७३ हजार रुपैंया राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट गत आर्थिक वर्षमा १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैंया र आर्थिक वर्ष ०७४/७५ मा १९ करोड ३१ लाख ६ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो ।
अघिल्लो वर्षको तुलनामा राजश्व संकलनमा कमि हुनुमा मुख्य त लकडाउन नै भएको पाँच नं. ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पाण्डेले बताउनु भयो ।
उहाँका अनुसार लकडाउन अवधिमा प्रदेश भित्र ५० हजार ८९९ वटा सवारी साधन भित्रिएका छन् भने ६७ हजार ८२० वटा सवारी साधन प्रदेशबाट बाहिरिएका छन् । त्यस्तै लकडानकै अवधिमा प्रदेश पाँचमा १ लाख ५६ हजार ३७८ जना मानिस भिभिएका छन् भने २ लाख २३ हजार ३४३ जना मानिस बाहिरिएका छन् ।
त्यस्तैगरी प्रदेश पाँचमा दैनिक सरदर १ हजार ३०५ वटा सवारी साधन प्रदेश गर्ने गरेको र १ हजार ६३२ वटा सवारी साधन बाहिरिने गरेको सूचना अधिकारी पाण्डेले बताउनु भयो । त्यस्तै प्रदेशमा दैनिक सरदर ३ हजार ७ सय जना प्रवेश गर्ने गरेका छन् भने ४ हजार ५ सय जना बाहिरिने गरेको उहाँले बताउनु भयो ।