बुटवलका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि ज्यान गएको छ । शनिबार राती आफैले चलाएको कार दुर्घटनामा परेर उनको ज्यान गएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवलबाट आफ्नो निवास ड्राईभरटोल जाने क्रममा आफैले चलाएको बा.७ च. ६९५९ नम्बरको कार अनियन्त्रित भई सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको ड्राईभरटोलमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भिर घाईते पाण्डेलाई बुटवलको कालिकानगर स्थित चौराहा हस्पिटल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । पाण्डेको पार्थिव शरीरलाई पोष्टमार्टम पश्चात आईतबार बिहान उनको आफ्नो घर स्याङ्जाको बिघा लगिएको छ भने राम्दीघाटमा अन्त्यष्ठि गरिने परिवारले जानकारी गराएका छन् । दुर्घटनामा परि क्षतबिक्षत भएको कार वडा प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा राखिएको पनि प्रहरीले जनाएको छ ।
यसैबिच नेपाल प्रेस युनियनका साधारण सदस्य पाण्डेको निधनमा नेपाल प्रेस युनियन रुपन्देही दुःख व्यक्त गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार नै शोक विज्ञप्ती जारी गरि पाण्डेको निधनले सिंगो संस्थालाई स्तब्ध गराएको उल्लेख गरिएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालद्वारा जारी शोक विज्ञप्तीमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
त्यस्तैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीले पनि शोक विज्ञप्ती जारी गरिन दुःख व्यक्त गरेको छ । महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी र सचिव रामप्रसाद आचार्यद्वारा जारी गरिएको शोक विज्ञप्तीमा पत्रकारिता क्षेत्रले असल, कर्मठ र निष्ठावान पत्रकार गुमाएको उल्लेख गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ । पत्रकार पाण्डेको निधन प्रति तिलोत्तमा मिडिया क्लवले पनि दुःख व्यक्त गरेको छ ।