आज हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन

1.4K

आज हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन


बुटवल । आषाढ शुक्ल एकादशीका दिन पर्ने यो दिन तुलसीरोपण एकादशी भनेर पनि चिनिन्छ । वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ ।

निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महीनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ । आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । चतुर्मास अवधिमा श्रीविष्णु(हरि) भगवान्को पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ ।

हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।