रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको सञ्जालले घर भाडामा लगाएका घरधनीसंग लकडाउन अवधिको ५० प्रतिशत भाडा छुट गर्न आग्रह गरेको छ ।
सञ्जालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनकालागि सरकारले गरेको लकडाउनका कारण व्यापार व्यबसाय ठप्प रहेको र लकडाउन अवधिको भाडा तिर्न निकै गाह्रो भएकाले ५० प्रतिशत भाडा छुट गरेर राहत प्रदान गर्न आग्रह गरेको हो ।
लकडाउनका कारण व्यापार व्यबसाय नराम्रो संग प्रभावित भई उठ्नै नसक्ने अवस्थामा पुगेको तथा यस्तो अवस्थामा पनि सरकारले निभाउनु पर्ने भूमिका ननिभाउँदा निकै अफ्ठ्यारो स्थितीमा पुगेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तो विषम परिस्थितीमा व्यबसाय धान्न र बाँच्नको लागि नीजि घरधनी तथा संस्थाहरुको स्वामित्वमा रहेका घरमा व्यबसाय गरेका व्यबसायीहरुलाई लकडाउन अवधिभरको भाडामा ५० प्रतिशत मिनाहा गर्न अनुरोध गरिएको सञ्जालको तर्फबाट बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा र रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बताउनु भयो ।
सञ्जालमा रुपन्देहीका व्यबसायिक संघसंस्थाहरु बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही, देवदह उद्योग बाणिज्य संघ, देवदह व्यापार संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, तिलोत्तमा चेम्बर अफ कमर्स, सैनामैना उद्योग बाणिज्य संघ, सैनामैना व्यापार संघ, उद्योग व्यापार संगठन रुपन्देही, उद्योग व्यापार संघ बुटवल र होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देही रहेका छन् ।