नेकपाको पार्टी कार्यालय बुटवलमा युवा तथा बिद्यार्थीको प्रदर्शन

1.3K

नेकपाको पार्टी कार्यालय बुटवलमा युवा तथा बिद्यार्थीको प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेतृत्व बिच अन्तरबिरोध चर्किएपछि पार्टी एकता जोगाईराख्न माग गर्दै युवा तथा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पार्टी एकता कायम राख्नुपर्ने सन्देश सहित नेकपाका भातृसंगठन राष्ट्रिय युवा संगठन र अनेरास्ववीयूले प्रदेश पार्टी कार्यालय बुटवलमा प्रदर्शन गरेका हुन् ।
दिउसो आधा घण्टाको प्रदर्शन पछि उनीहरुले सोही सन्देश सहित पार्टीको प्रदेश कार्यालयमा ज्ञापन पत्र समेत बुझाईएको अनेरास्ववीयूका जिल्ला कार्यालय सदस्य सपन पौडेलले बताउनु भयो । उहाँले पार्टी एकता टुट्टु हुन्न, कायम रहनुपर्छ भनेर शिर्ष नेतृत्वलाई दवाव दिनकालागि प्रदर्शन गर्नुका साथै कार्यालयमा ज्ञापन पत्र बुझाईएको बताउनु भयो ।
यद्यपी उक्त कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गुटका नेता कार्यकताहरु भने सहभागि थिएनन् । नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुबै पदबाट ओलीले राजिनामा गर्नुपर्ने माग गरेपछि पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दुबै पद नछाड्न अडान लिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतले दुबै पद छाड्नुपर्ने बताउँदै आएका छन् । यहि बिवादका बिच पार्टीको यहि असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक पटक सर्दै आएको छ भने ओली पक्षका नेताहरुले ओलीको समर्थनमा सडकमा प्रदर्शन समेत गर्दै आएका छन् ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा मागिएपछि चलिरहेको बजेट अधिवेशन समेत अन्त्य गरिएको छ । सरकारको यो निर्णयले पार्टी भित्रै तथा बाहिर समेत अनेकथरी आशंका उत्पन्न गरेको थियो ।