तिनाउ मिसन डेभलमेन्ट बैंकको सञ्चालक समिति अध्यक्षमा जीवनप्रसाद वझा

1.3K

तिनाउ मिसन डेभलमेन्ट बैंकको सञ्चालक समिति अध्यक्षमा जीवनप्रसाद वझा

बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक समिति सदस्य जीवनप्रसाद वझा निर्वाचित हुनु भएको छ । बैंकको साधारण सभा पश्चत बिहिबार बसेको सञ्चालक समितिको बैठकले वझालाई सर्वसम्मतीले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ ।
यस अंगाडी बैंकको साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट जीवनप्रसाद वझा, राजेन्द्रप्रसाद वझा, ऋषिराम पाण्डे, शालिकराम वेलवासे, तथा सर्वसाधारण शेयरधनीको तर्फबाट बिपिन पौडेल र अनिलप्रसाद श्रेष्ठ निर्बिरोध निर्वाचित हुनु भएको थियो ।
बुटवलमा केन्द्रीय कार्यालय रहेका तिनाउ विकास बैंक, मिसन डेभलपमेण्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक एक आपसमा मर्ज भई वनेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको उक्त पहिलो साधारण सभामा आर्थिक वर्ष २०७५/०७६ को लेखा परीक्षण प्रतिवेदन, २०७६ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको बारेमा छलफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रदिवकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
कोरोना भाईरस (कोभिड–१९)को संक्रमणसंग सचेत रहँदै भिडियो कन्फ्रेन्स मार्फत गरिएको कार्यक्रममा बैंकका अध्यक्ष टिकाराम घिमिरेले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट १२ प्रतिशत लाभांस वितरण गर्ने तथा बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ३ः१ (तिन कित्ता बराबर थप एक कित्ता शेयर) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी गराउनु भयो ।
हाल बैंकको चुक्ता पुँजी १ अर्व ६७ करोड ५८ लाख रहेको छ भने १५ अर्व ५० करोड निक्षप संकलन गरि १२ अर्व ५२ करोड रुपैंया कर्जा प्रवाह गरेको जनाएको छ । त्यस्तै हाल ५३ वटा शाखा कार्यालयबाट बैंकिङ् कारोवार गर्दै आएको र अव राष्ट्रिय स्तरको बिकास बैंक बन्ने लक्ष्यका साथ अंगाडी बढेको पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनु भयो ।