नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश पाँचको अध्यक्षकालागि बुटवल उद्योग बाणिज्य संघले संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई अंगाडी सारेको छ । महासंघको आगामी कार्यकालकालागि यहि साउनको २६ र २७ मा काठमाण्डौमा महाधिवेशन हुँदैछ । संघको लकडाउन भन्दा अंगाडी नै बसेको कार्यसमितिको बैठकले प्रदेश अध्यक्षमा श्रेष्ठलाई अंगाडी सारेपनि कोरोना महामारीले महाधिवेशनका गतिबिधि ओझेलमा परेका थिए ।
महासंघको महाधिवेशन नजिकिएसंगै अहिले चुनावी प्रचार तथा आन्तरिक भेटघाटका कार्यक्रम तिब्र भएका छन् । प्रदेश पाँचका १२ जिल्लामा ३६ वटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ छन् । त्यस्तै देशभरी नेपाल उद्योग बाणिज्य संघले आवद्धता प्रदान गरेका भोटिङ् पावर भएका जिल्ला नगर १०७, एशोसियट ५५० र बस्तुगत १०१ छन् ।
बुटवल उद्योग बाणिज्य संघको हालै बसेको कार्यसमिति बैठकले संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका सदस्य समेत रहेका श्रेष्ठलाई प्रदेश अध्यक्षमा जसरी भएपनि जिताउने रणनीति समेत अख्तियार गरेको छ । सोही अनुसार संघको टोलीले चुनावी रणनीति बनाएर काम सुरु गरेको छ ।
संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा तिनाउ मिसन डेभलपमेन्ट बैंक सञ्चालक समितिको अध्यक्ष, संघका उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ र परामर्शदाता राजेन्द्र वझा सञ्चालक समिति सदस्यमा निर्वाचित हुनु भएको बधाई समेत ज्ञापन गरेको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।