काँग्रेस र प्रहरी ‘जय नेपाल’ किन भन्छन् ?

1.7K

काँग्रेस र प्रहरी ‘जय नेपाल’ किन भन्छन् ?

अधिवक्ता बिमलराज भट्टराई /

‘जय नेपाल’ शब्दको खास उत्पत्ति हेर्ने हो भने ८० बर्ष पहिले राजा त्रिभुवनकै पालामा राणाशासन विरुद्धको संघर्षमा शहिद शुक्रराज शास्त्रीले प्रयोग गरेका थिए । तत्कालिन शासकले फाँसी दिने क्रममा अन्तिम इच्छा के छ ? भनेर सोध्दा शुक्रराज शास्त्रीले ‘जय नेपाल’ जय नेपाल, भनेका थिए । त्यहीं बेलादेखि नेपाली समाजमा यो शब्दको प्रयोग हुँदै आएको हो । पछि नेपाली काँग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिमा यो नै मुख्य नारा बनेको थियो । तत्कालीन क्रान्तिका मुक्ति सेनालाई आन्दोलनपछि प्रहरीमा समायोजन गरेपछि नेपाल प्रहरीले पनि जय नेपाल अभिबादन शुरु गरेका हुन् । आज पनि यथावत छ र रहनेछ । काँग्रेसले सोही बेलादेखि भेटघाट, औपचारिक कार्यक्रम तथा लिखित दस्तावेजमा समेत यही शब्दको प्रयोगलाई अभिवादन गर्ने माध्यम बनायो ।
ऐतिहासिक सन्दर्भ हेर्दा “जय नेपाल’’ भन्ने शब्द सम्बोधनको सुरुवात शुक्रराज शास्त्रीले प्रवचन गर्ने क्रममा सुरु र अन्त्यमा प्रयोग गर्दथे भन्ने पाइएको छ । त्यस्तै क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल लगायतका तत्कालीन युवाहरु भेट हुँदा र छुट्टिदा “जय नेपाल’’को अभिवादन गर्दथे । वि.स. १९९७ सालमा शुक्रराज शास्त्रीलाई फाँसीको बेला राणाहरुले अन्तिम इच्छाको लागि सोध्दा उहाँले “जय नेपाल’’ शब्द उच्चारण गर्नु भएको थियो । २००७ सालमा नेपाली काँग्रेसले नेतृत्व गरेको क्रान्तिमा “जय नेपाल’’को नारा घन्काएका थिए ।
विराटनगरबाट सन्चालित प्रजातन्त्र रेडियोबाट यो नारा बजाउँदा अझ लोकप्रिय बन्न पुग्यो । यसैबाट नेपाली काँग्रेसमा पनि आफ्ना नेता तथा कार्यकर्ताहरु बीच एक आपसमा समानता र सद्भावपूर्वक अभिवादन गर्नको लागि “जय नेपाल’’ शब्द प्रयोग गर्ने प्रचलन बस्यो र यो प्रचलन अहिलेसम्म निरन्तर चलिरहेको छ । यसरी “जय नेपाल’’ भनेर सम्बोधन गर्दा सिङ्गो नेपालको कल्याण होस् भन्ने अर्थ झल्किन्छ । त्यसैले “जय नेपाल’’ भन्ने शब्द कसैको बिर्ता होईन । हरेक जो कोहीले पनि बोल्न पाउँछन् ।
“जय नेपाल’’
कम्युनिष्टहरुले अभिवादनका क्रममा ‘लालसलाम’ शब्दको प्रयोग गर्ने गर्दछन् । केही दिन अघि जय नेपाल शब्दप्रति नेकपा सरकारकै प्रवक्ताले आपत्ति जनाएपछि काँग्रेसले पनि ‘लाल सलाम’ आयातित शब्द भन्दै त्यस्ता शब्दमा मोह हुनेहरुलाई ‘जय नेपाल’को अर्थ थाहा नहुनु स्वाभाविक भएको टिप्पणी गरेको थियो । जय नेपाल शब्द राष्ट्रियताको प्रतिक पनि हो । किनकी राष्ट्रिया भनेको माटो मात्र होईन जनता को सामुहिक भावना र बिचार पनि हो ।
अन्त्यमा भेटघाट हुंदा म जय नेपाल भन्छु कतिपय अकमक्क परेको पाउछु कतिले त जय लाल, कतिपयले नेपालको जय होस भन्नू हुन्छ । आउनुस अब शुरु गरौं, म भन्छु जय नेपाल कमरेड । जय नेपाल ।। तपाई पनि भन्नुस् कमरेड जय नेपाल ।।