पहिरो पिडितलाई खाना र बासको समस्या

1.2K

पहिरो पिडितलाई खाना र बासको समस्या

सुशीला रेग्मी /

पाल्पाको रामपुर नगरपालिका १ स्थित स्याउलीबजार बस्ने लक्ष्मी मल्लको घरमा पहिरोले क्षति पुगेपछि उहाँलाई गाँस र बाँसको समस्या परेको छ । यही साउन ४ गते राती परेको अबिरल वर्षाले पहिरो सहित बगेर आएको भलले एक्कासी घरको पछाडिको भाग नै भत्काएपछि उहाँको परिवार बिस्थापित हुन पुगेको छ । घर पूर्ण रुपमा क्षति भएपछि गाँस र बाँसको समस्याले सताएको छ ।
“परिवारमा कमाउने कोही छैन, साहारा दिने श्रीमान् पनि बिरामी हुनुहुन्छ, सम्पत्तिको नाममा घामपानीमा ओत लाग्ने एउटा मात्र घर थियो, त्यो पनि बस्नै नमिल्ने गरी पहिराले क्षति बनाइदियो” उहाँले भन्नुभयो । मल्लको परिवारमा एक छोरी र श्रीमान् हुनुहुन्छ । अहिले उहाँको परिवार छिमेकीको शरणमा छन् । बिहान साँझको गुजारा छिमेकीको घर घरमा आलोपालो गरेर टार्नुभएको छ । मध्यरातमा एक्कासी सुतिरहेको अवस्थामा भलसहितको पहिरो बगेर घरभित्रै पसेपछि भागेर ज्यान बचाउन सफल भएको उहाँका श्रीमान् नेत्रबहादुर मल्लले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “घरको तल्लो तल्लामा सुतीरहेका थियौँ, ठुलो आवाजमा सुरुमा लेदो सहितको पानीले घरको भित्ता नै भत्काएर पसेपछि झसङ्ग भइयो, जुरुक्क उठेर भागेर बचियोँ, नत्र पहिरोमा पुरिने रहेछौँ” । मजदुरी गरेर जीवन धान्ने नेत्रबहादुर तीन वर्ष अघि एक विद्यालयको भवन ढलान गर्ने क्रममा लडेर अशक्त हुनुहुन्छ । घरमा रहेका अनाज, लत्ताकपडा, दैनिक उपभोग्य भान्साका सामान, बाख्राको खोर सहित सबै पहिरोमा पुरिएको छ । घर बस्नै नमिल्ने गरी क्षति भएको छ । करिव पाँच÷छ लाख बराबरको क्षति भएको पिडितको भनाई छ ।
सोही ठाउँकै अर्का पिडित गमबहादुर मल्लको परिवार पनि घरमा पहिरोले क्षति बनाएपछि अहिले आफन्तको शरणमा बस्नु भएको छ । दुईतले पक्की घरमा पहिरो बगेर आएको भलले तल्लो तलामा पसेपछि छ जनाको परिवार बिस्थापित हुनु परेको छ । रमा सुतिरहेको बेला ठुलो भलसहित घरभित्रै पसेपछि छोराछोरी बुढी आमालाई सकुशल उद्धार गर्न सफल भएको गमबहादुरको श्रीमती नारायणी मल्ल बताउनुहुन्छ । धेरै जना आफन्तको घरमा बस्न पनि अप्ठ्यारो परेको हुदा पहिरो रोकथाम छिटो गर्न उहाँ अनुरोध गर्नुहुन्छ ।
सोही ठाउँका सूर्यबहादुर श्रेष्ठको सात जनाको परिवार पनि पहिरोको जोखिम बढेपछि बिस्थापित बनेको छ । पहिरोले लैजाने डरले परिवारलाई आफन्तको घरमा पठाएको श्रेष्ठ बताउनुहुन्छ । “परिवारका सबैलाई आफन्तको घर पठाएको छु, म रातभर नसुतेर घर पहिरोले पुर्छ कि भन्ने चिन्ताले बसिरहेको छु, दुख संग दुईतले पक्की घर बनाए, पहिरोले उठिबास बनाउने भयोँ” उहाँले भन्नुभयो ।
यहाँका दानबहादुर मल्लको पाँच जना र बालकुमारी मल्लको पाँच जनाको परिवार पनि पहिरोको उच्च जोखिममा छ । स्याउली बजार मित्याल सडकखण्डको सडक चौडा पार्ने काम ठेकेदारले बीचमै अलपत्र पारेर छाडेका कारण पहिरोको समस्या भोग्नु परेको दानबहादुर मल्लले बताउनुभएको छ । वर्षायाम सुरु हुनुभन्दा अगाडी नै ठेकेदारले काम बीचमै अलपत्र छाडेपछि पहिरोको जोखिम न्युनिकरणका लागि आवाज उठाएपनि यस विषयमा सुनुवाई नहुदा आफूहरु पहिरोको चपेटामा परेको मल्लको गुनासो छ ।
पहिरोबाट बिस्थापित परिवारलाई विपद व्यवस्थापन कोषबाट राहत सहयोग गर्ने वडा अध्यक्ष मित्रलाल कंडेल बताउनुहुन्छ । पहिरो प्रभावित क्षेत्रमा तत्काल डोजर प्रयोग गरी माटो हटाएर जोखिम हटाउने कार्य गर्ने अध्यक्ष कंडेलको भनाई छ । यसैगरी पहिरोले बिस्थापित लक्ष्मी मल्लको परिवारलाई बिहान साँझको गुजारा चलाउन समस्या परेपछि नेपाल कम्युनिष्ट पार्टी पाल्पाका जिल्ला कमिटि सदस्य विनोद श्रेष्ठले खाद्यान्न सहयोग गर्नुभएको छ ।