प्रदेश पाँचमा कुल बजेटको ७० प्रतिशत खर्च

537

प्रदेश पाँचमा कुल बजेटको ७० प्रतिशत खर्च

कोरोना भाईरस (कोभिड–१९) को महामारीले सिर्जना गरेको असहज परिस्थितीका बावजुध पनि प्रदेश पाँचमा गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश पाँचमा ७० प्रतिशत कुल खर्च भएको मुख्यमन्त्री शंकर पोखरेलले दावी गर्नुभएको छ ।
असहज अवस्थाका बिच पनि गत आर्थिक वर्षमा प्रदेश पाँचमा प्रदेश सरकारको पुँजीगत खर्च ७९.२९ र चालुतर्फ ६०.५४ प्रतिशत भएको उहाँले जानकारी गराउनु भएको हो । सात प्रदेशमध्ये पूँजीगत खर्च सबैभन्दा धेरै प्रदेश ५ मा भएको उहाँले दावी गर्नुभएको छ । उहाँका अनुसार प्रदेश नम्बर १ मा ७५.७९ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा ७१ प्रतिशत, गण्डकी प्रदेशमा ७० प्रतिशत, बाग्मती प्रदेशमा ५८ प्रतिशत, कर्णाली प्रदेशमा ४३ प्रतिशत र प्रदेश नम्बर २ मा ४२.४० पूँजीगत खर्च भएको छ ।
प्रदेश पाँचमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ५२.६०, आर्थिक मामिला तथा योजना मन्त्रालयले ४१, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ६९.५८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४१.५५ प्रतिशत खर्च गरेका छन् । त्यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३२.९९, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८३.१८, सामाजिक विकास मन्त्रालयले ७६.८६, मुख्य न्यायाधिवक्ताको कार्यालयले ६७.९१ प्रतिशत खर्च गरेका छन् ।
राजश्व संकलन तर्फ प्रदेशको आन्तरिक राजस्व लक्ष्यको ७३.९३ प्रतिशत संकलन भएको छ । प्रदेश सरकारले ४ अर्ब १२ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा ३ अर्ब ४ करोड ९१ लाख १२ हजार ९ सय संकलन गरेको जनाएको छ ।
चालु आर्थिक वर्षको बजेट खर्चलाई अझ नतिजामुखी बनाउन माननीय मुख्यमन्त्री पोखरेलले निर्देशन दिएको पनि उल्लेख गर्नुभएको छ । बजेट खर्चका लागि कार्यविधि, निर्देशिका साउनभित्रै बनाइसक्न र ठेक्का लगायतका काम पहिलो चौमासिकमा सकिसक्न पनि उहाँले मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ ।