व्यक्तिको सम्पत्तिमा डोजर : राजनीतिक प्रतिशोध

866

व्यक्तिको सम्पत्तिमा डोजर : राजनीतिक प्रतिशोध

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ निवासी खिमबहादुर हमालको घरमा गत बुधबार बिहानै नगरपालिकाले डोजर लगाएर भत्काईदिएपछि नगरपालिकाको कदमले पक्ष विपक्षमा एक प्रकारको तरंग उत्पन्न गराईदिएको छ ।
बुटवल कालिकापथको सडक बिस्तारको योजनासंगै हमालले मात्रै होईन उक्त सडक किनारमा पर्ने घरधनीहरुले मुआब्जाको बिषय उठान गरेपनि मुआब्जाको स्वरलाई कुल्चेर नगरपालिकाले जवरजस्ती दवाव सिर्जना गर्यो । नगरपालिकाको दवावका बिच कतिपयले आफै घर भत्काए भने कतिपयले मुआब्जा बिना घर नभत्काउने अडान लिए । त्यहि अडान मध्येका हमाल पनि हुनुहुन्छ ।
प्रचलित बिधि र मापदण्ड अनुसार खरिद गरि बनाएको घरधनीको सहमति बिना बल प्रयोग गरेर भत्काउनुलाई कतिपयले नगरपालिकाको खराव मनसाय भनेका छन् भने कतिपयले बिकास गर्दा बिनास सहनुपर्ने तर्क अंगाडी सारेका छन् । यद्यपी हमाल भने सतहमा हुने टिकाटिप्पणी भन्दा पनि न्यायालयको निर्णय स्वीकार गर्ने अठोट सहित सर्वोच्चमा पुग्नु भएको थियो । यो कदमलाई अधिकांशले स्वागत गरेका छन् । सर्बोच्चमा बिचाराधिन मुद्धामा एकाएक डोजर चलाउने नगरपालिकाको कदमको सर्वत्र बिरोध भएको छ ।

शुक्रबार बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संघका पूर्व अध्यक्षहरु तथा प्रमुख प्रतिपक्षी दलका नेताहरुसंग यस बिषयमा छलफल गरेको थियो । उक्त छलफलमा राजनीतिक पूर्वाग्रह साधेर हमाल सहितका १३ घरमा डोजर चलाईएको निस्कर्ष निकालिएको छ । छलफलमा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले हमालको घरमा डोजर चलाईनुको पछाडी राजनीतिक पूर्वाग्रह नै भएको दावी गर्नुभयो । हमाल नेपाली काँग्रेसको कृयाशिल सदस्य हुनुहुन्छ भने बुटवल उद्योग बाणिज्य संघमा पनि लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । काँग्रेस रुपन्देहीका सचिव खाँणले नगरपालिकाको यो कदमलाई सामान्य रुपमा लिन नसकिने पनि बताउनु भयो ।
बुटवल कालिकापथ सडक समितिका संयोजक समेत रहनुभएका नेकपा बुटवल नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले अंघिल्लो दिन साँझ मात्रै हमालकै घरमा गएर एक प्रकारको सहमति गर्ने र भएको सहमतिलाई लत्याएर एकाबिहानै घरमा मान्छे सुतिरहेको बेलामा बाहिर निस्कन सम्म नभनी डोजर चलाउनुले मानव अधिकारको समेत चरम उल्लंघन भएको उक्त बैठकले ठहर गरेको छ ।
पन्थीले अंघिल्लो दिन साँझ मात्रै हमालसंग सर्बोच्चमा बिचाराधिन मुद्धा फिर्ता लिन र वडामा गएर मुआब्जाको निवेदन दिन आग्रह गर्दै त्यसो गरे सहज रुपमा समाधान हुने बताउनु भएको र आफूलाई वैकल्पिक व्यबस्थाको भरपर्दो वातावरण बनाईदिए मुद्धा फिर्ता लिन तयार भएको जवाफ दिएको हमालले बताउँदै आउनु भएको छ । हमालले आफू बस्दै आएको घर नियमको परिधि भित्रै रहेर तत्कालिन मापदण्ड अनुसार नै बनाएको प्रमाण समेत पेस गर्दै आउनु भएको छ । एकातिर अदालतमा मुद्धा बिचाराधिन हुँदा हुँदै घरमा डोजर चलाईनु अदालतको मान हानी भएको छ भने अर्को तिर आफैले गरेको आग्रहको वेवास्ता गरेकाले अमानवीय व्यबहार भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहनु भएका हरि लम्साल बताउनु हुन्छ ।
नेपाली काँग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेले सार्वजनिक सम्पत्तिमा नेकपाले कार्यकता भर्ने र व्यक्तिगत सम्पत्तिमा डोजर चलाउने कामले विशुद्ध राजनैतिक पूर्वाग्रही कदम भएको दावी गर्नुभयो । उहाँले अदालतले गरेका आदेश कार्यान्वयन गराउने तर्फ नगरपालिकाले कुनै चासो नराखेको र अदालतमा मुद्धा बिचाराधिन रहेको घरमा डोजर चलाउने कदमले राजनीतिक पूर्वाग्रहलाई प्रष्ट पारेको जिकिर गर्नुभयो ।
उहाँले हमालको घर सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको भन्ने गरि समाचारहरु आएको उल्लेख गर्दै सत्यतथ्य बुझेर मात्रै समाचार लेख्न समेत पत्रकारहरुलाई आग्रह गर्नुभयो । त्यस अवसरमा नेपाली काँग्रेस उद्योग व्यापार विभागका संयोजक रामेश्वर श्रेष्ठले व्यक्तिगत सम्पत्तिमा मुआब्जा बिना कसैले पनि जवरजस्ती गर्न नमिल्ने बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरुले नगरपालिकाको उक्त कदम गैरकानुनी र व्यक्तिको सम्पत्तिको हकको वर्खिलापमा रहेको बताउँदै ‘बुढी मोरी भन्दा पनि काल पल्क्यो’ भन्ने रुपमा बुझिएको बताउनु भएको थियो ।
बैठकमा संघका पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, जीवनप्रसाद वझा, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठले घर नभत्काई नहुने भए घर भित्र रहेका मानिसलाई बाहिर निकालेर डोजर चलाउन सकिने भएपनि त्यस्तो नदेखिएकाले मार्ने नियत नै होकी भन्ने लागेको बताउनु भएको थियो । संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद अर्यालले अदालतले पटक पटक खाली गराउन भनेका जग्गामा वास्ता नगर्ने तर अदालतमा बिचाराधिन रहेको मुद्धामा एकाएक डोजर चलाउनु खेदजनक रहेको बताउनु भयो ।