प्रदेश सभा अन्तरगत भएका खर्च अनियमितताको अख्तियारद्वारा छानविन सुरु

1.3K

प्रदेश सभा अन्तरगत भएका खर्च अनियमितताको अख्तियारद्वारा छानविन सुरु

प्रदेश पाँचको प्रदेशसभा अन्तर्गत भएका खर्चमा अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयां बढी खर्च र प्रदेश सभाका सचिव दुर्लभकुमार पुन र लेखा अधिकृत आलोक अग्रहरिले कानून विपरीत घरभाडा लिँदै आएको विषयमा उजुरी परेको थियो । यस विषयमा प्रदेश सभाको लेखा समितिले पनि छानवीन गरिरहेको छ । अख्तियारले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर फाइल मगाएर अनुसन्धान थालेको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले पुष्टी गर्नुभयो । ‘उजुरी परेपछि हामीले अनुसन्धान प्रकृया अघि बढाएका छौं’–प्रवक्ता भुसालले भन्नुभयो । प्रदेश सभा सचिवालयका उच्च अधिकारीले पनि अख्तियारबाट पत्र आएको र फाइलहरु पठाउने प्रकृयामा रहेको उहाँले बताउनु भयो । प्रदेशसभाका ३२ वटा सवारी साधन मर्मतमा २३ महिनामा ६३ लाख खर्च भएको देखाइएको छ । नयां किनेको दुई वर्ष पनि नबित्दै गाडी मर्मतमा यति ठूलो रकम खर्च देखाइएपछि अनियमितता भएको आशंकामा प्रदेश सभाको सार्वजनिक लेखा समितिले पनि सांसद वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा समिति गठन गरेर छानवीन अगाडि बढाएको छ । समितिका संयोजक कलवारले सवारी साधन मर्मत सम्वन्धी सम्पूर्ण हरेक बिलको नम्बर, खर्च भएको मिति, मर्मत गरेको ग्यारेजको नामसहित विस्तृत फाइल मगाएर छानवीन गरिरहेको बताउनु भयो । प्रदेश सभा सचिवालयका कर्मचारी, गाडी चालक र वर्कशपको मिलेमतोमा सवारी मर्मतमा अनियमितताको आशंका रहेको समिति संयोजक कलवार बताउनु हुन्छ ।
प्रदेश सभाले आर्थिक वर्ष २०७५–७६ मा ८ करोड ६१ लाख रुपैयाँमा ११ वटा टाटा स्ट्रोम जीप, एउटा महिन्द्रा स्कार्पियो जीप, एउटा निशाना टेरानो कार, चारवटा मोटरसाइकल र तीन वटा स्कुटर किनेको थियो । यी गाडी सभामुख, उपसभामुख, प्रदेश सभाका सातवटा समितिका सभापति, सत्तापक्ष र विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभा सचिव र उपसचिवलाई सुविधा वापत दिइएको छ । टाटा स्ट्रोम जीप खरिद गर्दा बजार मूल्य भन्दा बढीमा खरिद गर्दा ३७ लाख ३९ हजार ९ सय ८९ रुपैयां बढी तिरेको पाइएपछि लेखा समितिले छानबिन गरेर बढी तिरिएको रकम फिर्ता गराएको थियो । एउटा जीपको बजार मूल्यभन्दा ३ लाख ३९ हजार ९ सय ९९ रुपैयासम्म बढी रकम तिरेको पुष्टी भएएको थियो । सत्तारुढ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको सफल अटो इन्टरनेशनलमार्फत टाटा स्ट्रोम जीप खरिद भएको थियो ।
यस्तै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान अन्तर्गत कोल्ड स्टोर खरिदमा दिएको अनुदानमा पनि अनियमितता भएको आशंकामा छानबिन गर्न लागिएको लेखा समिति सभापति डिल्ली चौधरीले बताउनु भयो ।

मन्त्रालयहरुमा पनि अनियमितताको प्रश्न

प्रदेश सभा सचिवालयमा मात्र हैन, प्रदेश ५ सरकारको विभिन्न मन्त्रालयबाट भएका खर्चमाथि पनि प्रश्न उठेपछि लेखा समितिले छानवीन गरिहेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कोभिड–१९ कृषि अनुदान कार्यक्रमका लागि छुट्टाइएको ४० करोड बढी रकम र दाङको सिंचाइ आयोजनामा भएको चार करोड रुपैयाँको खर्चमा पनि अनियमितताको आशंका भएकाले लेखा समितिले फाइल मगाएको जनाएको छ ।
यस्तै सामाजिक विकास मन्त्रालय अन्तर्गत कोरोना कोषबाट भएको खर्चका सम्बन्धमा पनि लेखा समितिले छुट्टै समिति बनाएर छानवीन थालेको छ । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड रुपैयाँ खर्चेर मनाइएको लुम्बिनी भ्रमण वर्षको खर्च विवरणको फाइल पनि मगाइएको लेखा समिति सभापति चौधरीले बताउनु भयो । आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहत दाङमा गत वर्ष गरेको प्रदेश एक्स्पोको नाममा थुप्रै फर्जी बिल पेश गरेर लाखौं रकम सकिएको भन्ने उजुरी पनि लेखा समितिमा परेको छ ।