विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारण मर्कामा परेकाहरुको सहाराका लागि रोटरी क्लव अफ बुटवल साउथले ‘फूड बैंक’ सञ्चालन गर्दै छ ।
क्लवले हुनेलाई सहयोग गर्न र नहुनेलाई संकलित सहयोग लिएर जाने गरी फूड बैंक स्थापना गर्न लागिएको क्लवका अध्यक्ष प्रेम भूर्तेलले जानकारी गराउनु भयो । कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन गरेको थियो ।
सरकारले गरेको लकडाउन झण्डै ४ महिनामा सकिएपनि कोरोना भाईरसको संक्रमण समुदायमा फैलिन थालेपछि पूनः स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयले लकडाउन गर्दै आएका छन् । यसैका कारण मारमा परेकाहरुको सहयोगकालागि रोटरी क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी र ह्याप्पी ह्वील्सको सहकार्यमा फूड बैंक सञ्चालन गर्न लागिएको हो ।
मुलुक भएको लामो समयसम्मको बन्दाबन्दीका कारण धेरै मानिसलाई साझ बिहान हातमुख जोड्न पनि समस्या भएको बुझिएकाले हुनेबाट संकलन गरि नहुनेलाई प्रदान गर्ने प्रवन्ध मिलाईएको अध्यक्ष भूर्तेलले बताउनु भयो । ‘हुनेले दिनुहोस, नहुनेले लैजानुहोस ः दिनेलाई आनन्द, लिनेलाई साहारा’ भन्ने नारा सहित भोली मंगलबारदेखि बुटवलको ट्राफिक चोकमा फूड बैंक सञ्चालनको तयारी गरिएको क्लवले जनाएको छ ।
क्लवले सञ्चालन गरेको यो अभियानमा साथ दिन र सहयोग गर्नकालागि सबैलाई आह्वान गरिएको छ ।