‘प्रकृति र संस्कृति रामपुरका पर्यटकीय पहिचान’

718

‘प्रकृति र संस्कृति रामपुरका पर्यटकीय पहिचान’

सुशीला रेग्मी /

परिचय :

चारैतिर डाँडाकाडाले घेरिएको बीचको समथर भू–भाग रहेको मनमोहक रामपुर उपत्यकाले कसको पो मन छुँदैन र । प्रकृतिले उपहार स्वरुप दिएको रामपुर उपत्यकाको सुन्दर मनमोहक दृश्य, यहाँको कला संस्कृति, रहसहनले यहाँको विशिष्टता हो मौलिकता पनि । बुटवल, पोखरा नारायणघाट यी तीन ठूला शहरको बीच भागमा काठमाडौँ उपत्यकाको स्वरुपमा रामपुर उपत्यका छ । भौगोलिक अवस्थितिले झट्ट हेर्दा काठमाडौँ शहर जस्तै लाग्छ ।
पाल्पा सदरमुकाम तानसेनदेखि करिव ६५ किलोमिटर पूर्वको दूरीमा रामपुर उपत्यका अवस्थित छ । यहीँ भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भूभाग, डाडाकाँडाको बीचमा पर्ने सुन्दर शहरको रुपमा अगाडी बढ्दैछ रामपुर ।
रामपुर नगरपालिका भित्र ऐतिहासिक तथा पर्यटकीय, धार्मिक तीर्थस्थल प्रशस्त छन् । यहाँ कास्की पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापुधाम, राम्चेबन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामूदायिक बन, रामकुवा, तातोपानी घाट लगायतका महत्वपूर्ण क्षेत्र छन् जुन पर्यटकीय आकर्षण हुन् ।

इतिहासमा रामपुर :

त्रेतायुगमा भगवान् रामचन्द्र बनवास जाने क्रममा पाल्पाको रामपुरमा आएर बास बसेको र उनै भगवान्को नामबाट रामपुर रहन गएको किंवदन्ती छ । रामपुर भगवान् रामचन्द्र बनवास जादा जोडिएको पौराणिक इतिहास छ । बनवासको क्रममा रामपुर नगरपालिका ५ स्थित कालीगण्डकीको रामघाटमा नुहाएको भन्ने कथन छ । त्यही भएर यस घाटलाई रामघाट भनिएको हो ।
रामघाट क्षेत्रमा रामगुफा, चमेरे लगायतका दर्जनौ गुफा छन् । यहीँ तपस्या गरेर बसेका बखत रामचन्द्रका धर्मपत्नी सीता रजस्वला भएपछि उनलाई लुकाउन साविक दर्छा गाविसको माथिल्लो भागमा लगियो । रजस्वला भएका बखत नुहाउन त्यहाँ पानी नभएपछि रामचन्द्रले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरेको किम्बदन्ती छ । सीताले त्यही कुण्डमा नुहाएको हुनाले सीताकुण्ड नाम रहन गएको हो ।
बुढापाकाका अनुसार यस कुण्डमा पहिले चामल फल्ने गरेको र स्नान गर्न आउने उपवास बसेकाले भोक लाग्दा चामल थुतेर खान थालेपछि धान फल्न थालेको पौराणिक कथन छ । कुण्ड परिषरस्थित जीर्ण सीताको मन्दिर मर्मत, कम्पाउण्ड, ठाँटी निर्माण लगायतका काम भएको छ । यस कुण्डलाई रामपुर नगरपालिकाले दश उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत गरेको छ । यहाँ जलदेवी, सितामाई, भैरमकाली, सेती नाग रहेको छ । पहिले पहिले यहाँ पशुबली दिने गरेकोमा केही वर्ष यता भने पशुबली अन्त्य गरी फलफुल, नरिवल चढाउने गरिन्छ ।
यहाँ रामनवमी, कृष्णजन्माष्टमी, अक्षय तृतीयाका अवसरमा विशेष मेला लाग्छ । रामनवमीमा रामले नुहाएको कालीगण्डकीको रामघाटको जल ल्याई सीताकुण्डमा चढाउने प्रचलन छ ।

सांस्कृतिक विविधता

रामपुरको कला संस्कृति र रहनसहनले यहाँ आउने प्रत्येकलाई लोभ्याउने गरेको छ । ब्राह्मण, नेवार, मगर, मुस्लिम लगायतका समुदायको रहनसहन अध्ययन गर्नेका लागि यो अनुपम स्थल रहेको छ । नेपालकै एकमात्र शालिग्राम पाइने पवित्र कालीगण्डकी, विभिन्न समूदायका कला संस्कृती, रहनसहन, प्राकृतिक सुन्दरताले भरिपूर्ण छ रामपुर उपत्यका ।

खैरेनी बन र यसको आकर्षण

कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी सामूदायिक वन यहाँको अर्को आकर्षण हो । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बुढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । पौराणिक कथन अनुसार मुक्तिनाथदेखि बगेर आएको कालीगण्डकी रामपुर नगरपालिकाको साबिक खालिबन गाविसको खैरेनी सामुदायिक वनबाट दक्षिणतर्फ बग्ने क्रममा त्यहाँ खैरी नाम गरेकी गाई ब्याएर बसेको थियो ।
गाईले बच्चा जन्माएर बसेपछि बग्दै आएको नदी सोहीबाटो फर्केर उत्तरतर्फ बग्दै गएको भन्ने किम्बदन्ती छ । यस क्षेत्रलाई धेरैले गाईले बच्चा पाएर नदी घुमेको स्थान भनेर पनि चिनिन्छ । नदी बगेर फर्केको दक्षिणतिरको भागमा ठूला साना गरी १० वटा जति ओढार छन् । ओढारमा त्रेतायुगमा ऋषिमुनि यहाँ आएर बसेको पौराणिक कथनले पनि यसको धार्मिक महत्व रहेको छ । तानसेनबाट खालिबनको बाटो हुदै रामपुर झर्ने जोकोही पनि खैरेनी वनका मनोरम दृश्य, चराचुरुङ्गीको चीरबिराहट सुन्दै फेदीमा झर्ने गर्दछन् ।
झण्डै गाडीमा आधा घण्टाको ओरालो बाटो हुँदै फेदीमा झरेको कसैलाई पत्तो हुदैन । अधिकांशले मोबाइल, क्यामेरामा सेल्फी र फोटा खिचेर सामाजिक सञ्जालमा राख्ने गरेकाले यसको चर्चा अझै चुलिदै गएको छ । यहीको दृश्य नियाल्नकै निम्ति पक्की सडक छोडेर जब्गादीबाट कच्ची सडक हुदै रामपुर बजार झर्ने गर्छन् । अति सुन्दर मनै लोभ्याउने प्रकृति नियाल्दै, रमाउँदै फेदीमा झर्दा जोकसैलाई पनि सपनाबाट विपनामा ब्युझिएजस्तो आभास हुन्छ । उत्तरबाहिनी कालिगण्डकीले खैरेनी सामुदायिक वनलाई घेरेको अनौठो दृश्य कवि, गीतकार, पत्रकार मात्र नभई सबैलाई लोभ्याउने गर्छ ।
१८ हेक्टर क्षेत्रफलमा फैलिएको वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ । नदीले घेरेको वनलाई सानो खैरेनी वन र नदीले नघेरेकोलाई ठूलो खैरेनी वन भनी नामाकरण गरिएको छ । वनभित्र गौतम बुद्धको मूर्ति सहितको कुटि निर्माण गरिएको छ भने एउटा निर्माणाधिन पौवा छ । वर्षायामको समयमा नदीले दक्षिणतिरको क्षेत्रबाट बगेर टापु आकारको खैरेनी वनलाई घेर्ने हुदा त्यहाँसम्म पुग्न डुङ्गा सञ्चालन गर्न सकेको खण्डमा यस क्षेत्रमा दिनहुँ सयौैँको मात्रामा पर्यटक आउने छन् । वनभित्र बिभिन्न जातका चराचुरुङ्गीको चीरविराहट सुन्दा र कालीनदीकोे मनोरम दृश्य देख्दा आनन्दको अनुभुती हुन्छ । कालीगण्डकी करिडोरबाट करिव आधा घण्टाको पैदल दुरीमा रहेको यहाँ अत्यावश्यकीय पूर्वाधार विकास गर्न सके मात्र पनि आम्दानीका स्रोत बढाउन सकिन्छ ।

फेवातालको झल्को दिने तालपोखरा

सरकारको एक सय पर्यटकीय गन्तव्य स्थलमा परेको तालपोखरा यहाँको अर्को पर्यटकीय आकर्षण हो । सामान्यतः वर्षाको पानी जम्मा हुने पोखरीलाई कृत्रिम तालका रुपमा विकास गरेसँगै यसले फेवातालको आभास दिन थालेको छ । पछिल्ला समयमा ठाउँ ठाउँबाट तालपोखरा आएर यहाँको मनोरम वातावरणलाई नियाल्दै मन खुसी बनाएर फर्कने पर्यटक, साहित्यकार लगायतको संख्या पनि उत्तिकै बढेको छ ।

‘रामजानकी मन्दिर’ जनकपुरकै अनुभूति गराउने प्रयास

पूर्वाधार निर्माणकै क्रममा पूर्वको जनकपुरमा अवस्थित रामजानकी मन्दिरकै अनूभूति हुने गरी निर्माण कार्य बढाइएको छ । पाल्पाको ऐतिहासिकता समेतलाई मध्यनजर गर्दै छत्रशैली र गुम्बाशैली आकारमा जनकपुरकै स्वरुपमा राममन्दिर परिषरमा रामजानकी मन्दिर निर्माण भइरहेको छ ।
त्यस्तै यहाँकै राम्चे वनको भ्युटावरबाट रामपुरको दृश्यावलोकन गर्न सकिन्छ । कालीगण्डकीको तटमा रहेको ज्याग्दी वन पनि अहिले पर्यटकिय क्षेत्रका रुपमा बामे सर्दैछ । संस्कृति र प्रकृतिको बरदान युक्त यहाँका पर्यटकीयस्थल एवम् कला संस्कृतिलाई संरक्षण गरी देशकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने रामपुर नगरपालिकाको लक्ष्य छ ।
अन्त्यमा प्रकृति र संस्कृतिको अनुपम बरदान रामपुरको सौन्दर्यलाई युगौंसम्म बचाई राख्नु हामी सबैको कर्तव्य हो । यहाँका प्रकृति र संस्कृतिका मौलिकतालाई जोगाउँदै भावी पुस्ताका लागि पनि ‘हाम्रो रामपुर, राम्रो रामपुर’ भन्ने वातावरण निर्माणका लागि सबैको एकताबद्ध प्रयास अपरिहार्य छ ।