सत्यकथा – ‘जुम्लीको हुँकार र आजको कोरोना’

सत्यकथा – ‘जुम्लीको हुँकार र आजको कोरोना’

नविन घिमिरे /

कुरा हो २०४०/४१ साल तिरको, अर्घाखाँची जिल्ला खिदिम गा.बि.स., हरियाली डांडा पाखा उकाली ओराली, बाल(मनोबृती, निष्कपट चुलबुले पन, घुच्ची खेल्ने साथिभाई अनि परिबेश आफैमा शान्त र सौम्य । सदा झैं त्यस बर्ष पनि माथी गांउमा गाई बस्तुलाई खुवाउने घांसको निफुर्को र धान पराल स्याहार्ने चटारोले तिहारको रमझम सकाई वरी गाउँ देखि १ घण्टा तल बेसी खर्कमा गाईबस्तु झार्ने र करिब २ महिना खर्कमै बस्ने चलन थियो । सदाझै त्यस बर्ष पनि दिन हेराई बस्तु भाउ खर्कमा झरे ।
हामी केटाकेटीहरू भने खर्कमा झरेपछी खुब रमाउथ्यौँ किनकि हाम्रो ढांडको धानखेत र स्कुल पनि नजिकै पर्ने, बन चाहारी तिंजु ऐसेलु खिल्वा चौतारी खान पाईने, दिनहुं उकाली–ओराली पनि गर्नु नपर्ने र घांस प्रसस्त भएपछी भैसीले बाल्टीभरी दूध दिने अनि हामीले आमाको आँखा छली चोरी(चोरी ठेकाको तर जिप्टाउने दोष भने दिदिहरूलाई लगाउने । आहा ! ती दिनहरू सम्झिदा फुत्त त्यो बालापन फेरि आईदिए हुन्थ्यो जस्तो लाग्छ । अब आयो गांठी कुरो मेरो जिम्मामा रहेको गाई गोठको । हाम्रो गोठमा पाको मध्धेबाट क्रमश जुम्ली, काले, माले, कान्छो, फुर्की, माली अनि बाछ्छी गरि ७ वटा गाईबस्तु थिए । स्कुल बिदामा तिनलाई चराउने र स्कुल लाग्दा बेलुकि वनबाट गोठमा ल्याई बाध्ने मेरो काम हुन्थ्यो । ती चार वटा गोरू र तीन वटा गाई मध्धे जुम्ली गोरूको भने आफ्नो समुहमा सान र मान बेग्लै थियो । हामी घर परिबारको लागि जुम्ली आाज्ञाकारी साधु जस्तै थियो तर उसको समुहको लागि भने आफुलाई सम्राट ठान्थ्यो । आफु हिडेको बाटोको अगाडि उभिने कसैको आंट हुदैनथ्यो । उ रोकिदा सबै टक्क अडिन्थे भने उसको पाईला बढेपछि मात्र अरूको पछिपछि पाईला बढ्थ्यो ।
चर्दै जांदा मिठो घाँस आईलाग्यो भने जुम्लीकै हाली मुहाली चल्थ्यो । अरू मुखामुख गर्थे र आँखा घुमाएर उसैलाई हेर्थे मानो कतिखेर थलो खाली गर्ला र बचे खुचेको हात मारौला । थलो खाली गरेर अगाडि बढेपनी एकपटक शिर घुमाएर फ्वां फ्वा को फुङ्कार लगायो पछी सारा थरिकम हुन्थे । जुम्लीको जिउडाल र ताकतले गर्दा भने होईन, उ त बुढो भैसकेको थियो तर उसको फुँकार र फ्वां फ्वां नै उसको ताकत थियो मानौ कि उसले ६ जना प्रजामाथी फुँकारकै बलले बर्षौदेखी दादागिरी देखाईरहेछ । जिउडाल र ताकत हेर्दा त कान्छोको शरिर कस्सीएको र स्वभाबमा पनि असल थियो । काले र बाछ्छी अली चोर्ने स्बभाबका हुदा गोठालाको प्रायः आंखामा परिरहन्थे । फुर्कि र माली गाई आफ्नै तालमा सङ्गसङ्गै चर्थे मानौ उनिहरूलाई जुम्लीको साम्राज्यको कुनै मतलब छैन ।
माले भने अलि बढी स्त्री लम्पट थियो । फुर्की गाईसङ्ग बेला बेलामा साईनो गास्ने आंट गरेपनी जुम्लीको हुँकारसङ्गै तीन कोष पर भाग्थ्यो । कुनै छिमेकि गाई देख्ने बित्तिकै जबरजस्ती सिङमा माटो सिउरीन्थ्यो अनि डुक्रदै खुरले माटो खोस्रेर पुछ्छर हल्लाई आफुतिर आकर्षित गर्न खोज्थ्यो मानो कि तीन गाउंमा उ नै फिल्मि जगतको भुवन के. सी. हो । कान्छोले बेला बेलामा जुम्लीको हुँकारमाथी बिरोध गर्न नखोजेको पनि होईन । भिड्ने नै हो भने एक झ्वाकमा तीन बल्ड्याङ्ग ख्वाउन सक्थ्यो तर साहस जुटाउन सकिरहेको थिएन । अति भएपछी खति हुन्छ भनेझैं एक दिन स्कुलबाट फर्केपछी गोधुली सांझमा मैले खैर्रे माथी बनबाट गाईबस्तु झारेर छाप्रे (बस्तुभाउ राख्ने अस्थाई टहरो) मा बांधे । छाप्रो चाहिँ बारीको पाटोमाथी सिरानमा थियो । तर जुम्ली गोरू आईपुगेको थिएन । टटहलाको फेदमा बसेर “जुम्ली हो थरी आ आ“ भनी बोलाए । आज्ञाकारी भएकाले एकछिनपछी सम्राटले सिकार खेली फिर्ती सवारी भएझै गरि ढलक ढलक गरि छाप्रोतिर ओरालो झर्न थाल्यो ।
शुरूको किलामा जुम्ली, त्यसपछी कान्छो, काले, माले गरि लहरै बाधिन्थ्यो । अरू सबै बांधिएका थिए । दोस्रो नम्बरको कान्छो पनि दाम्लोमा थियो । मैले बेलौतीको रूखबाट सबै नियाली रहेको थिए । जुम्ली हुँकार गर्दै कान्छोतिर सोझियो । अब कान्छाका अगाडि दुईवटा बिकल्प देखिए । पहिलो जुम्लीको डटेर सामना गर्ने या त्वमः शरणः गरि मार खाने । कान्छाले पहिलो बिकल्प रोज्यो अनि फ्वां फ्वां गर्दै आफुतिर जोत्तिन आईलागेको जुम्लीलाई साहास जुटाएर दाम्लोबाटै एक स्वांठ दियो र घिच्रोबाट उचाली पछारीदियो । बिचरा जुम्ली दुई बल्ड्याङ्ग खाएर केराको बुटामाथी अडिन पुग्यो । आफ्नो सान र ईज्यतको धज्जि उढ्ने देखेर हत्तपत्त जुम्ली उठ्यो, छाला फर्फरायो, धुलो झारेर लुखुर लुखुर आफ्नो दाम्लो भएतिर अगाडि बढ्यो मानौ केही भएकै छैन । हतपत जुम्लीलाई बांधेर बेलौतीको फेंदमा बसी एकछिन त्यहांको रंगमञ्च नियालि रहें । जुम्लीको अनुहारमा कुनै चमक देखिएन । आजसम्मको उसको सान सौकत सबै माटोमा मिलेको आभाष हुन्थ्यो । टाउको बटार्ने कृयाकलाप पुरै बन्द भई एककोहोरो भुईतिर मात्र हेरिरह्ये । मानौ कि, आज उसको राजमुकुट खोसिएको छ, फ्वां फ्वा गर्ने स्वास पनि आज फोक्सो भित्रै दबेको छ । लाग्दै छ, उ नै संसारको सबैभन्दा सुधो प्राणी हो, बर्षौंदेखी तानाशाह बाट पिल्सीएकझ एउटा ईमान्दार रैति हझ अनि कपटि शकुनिहरूको बिचमा फसेको लाचार अभिमन्यु हो ।
उता कान्छोको डुक्राई बढ्दै जान थाल्यो । नाकका पोरा फुल्लाउदै जुर्रो फहराउन थाल्यो । फोक्सो भित्रको हावा जोड जोडले बाहिर निकाल्दै खुरले भुई कोतरीरह्यो । लाग्छ कि आज उसले कौरब सेनाका कमाण्डरलाई परास्त गरि पूरा हस्तिनापुर राज्य जितेको छ, गान्धारीको राजमुकुट आज उसको कब्जामा छ, सारा प्रजा प्राणी जगत अब उसको मुठ्ठीमा रहने छ , सारा जगत अब उसको लाचार छांया बनेर जिउने छन मानौ कि उ अब राजगद्दी समाल्न भोलीको सुर्यको किरणलाई पर्खिरहेछ । राती खेतबाट बुवा आईपुग्दा सम्म पनि कान्छो डुक्रीरहेको सुनेर बुवाले मलाई सोध्नुभयो । मैले सारा बृतान्त सुनाए अनि बुवाले भन्नू भयो ““अति गरेपछी खति हुन्छ, सोठ्ठीएको थियो बल्ल स्वाद भेटेछ““ अर्को दिनदेखी साम्राज्य कान्छो गोरूको हातमा थियो । निडर भै उ चारैतिर स्वतन्त्र बिचरण गर्ने भयो । उसलाई कसैको रोकतोक थिएन । त्यसपछी उसले छिमेकि साम्राज्यमा पनि आफ्नो प्रभुत्व जमाउंदै गयो । करिब २ महिनाको बेंशी बसाई पछी बस्तुभाउ सहित हामी माथी घर निस्कियौँ । उता जुम्लीको हालत दिन प्रतिदिन कमजोर हुँदै गयो । बुढ्यौलि र कमजोर हुंदा बसेको ठाउंबाट उठ्न नस्कने र शरीर चलाउन नसक्ने गरी लम्पसार परिरह्यो । बाख्राका पाठा उसको शरिरमाथी उफ्रिदा अनि टाउको जुधाई खेल्न खोज्दा उसले शिर हल्लाउन नसकि फगत आँखाका गेडी मात्र नचाईरह्यो र अन्त्यमा जुम्लीले आफ्नो हुँकार अनि साम्राज्यलाई सदाका लागी तिलान्जली दिई कहिल्लै नउठ्ने गरि आँखा चिम्लियो ।।
आज पनि बारीको डोरामा नास्पातिको बुटामाथी सुरक्षित रहेको उसको सिङ्ग देख्दा लाग्छ कोरोना जस्तो महामारीसङ्ग लड्न मानव जातिले पनि ““जुम्ली हुंकार““को त्याग गर्नै पर्छ ।।। अस्तुः ।।।

(लेखक हाल हेभी इक्युपमेन्ट डिभिजन वुटवलमा कार्यरत इन्जिनियर हुनुहुन्छ ।)

Share This
  • 95
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    95
    Shares