सरकारी निर्णयको अवज्ञा गर्ने होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीको निर्णय

625

सरकारी निर्णयको अवज्ञा गर्ने होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीको निर्णय

होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देही सरकारी निर्णयको अवज्ञा गर्ने निर्णय गरेको छ । संघले आगामी असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्ट व्यबसाय सञ्चालन गर्ने निर्णय गर्दै संघमा आवद्ध व्यबसायीलाई सोही अनुसार होटल व्यबसाय सञ्चालन गर्न पनि आग्रह गरेको हो ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको लागि लकडाउन गर्दै आएको सरकारले अन्य व्यबसायलाई केही खुकुलो बनाएपनि होटल व्यबसाय सञ्चालन गर्ने वातावरण नबनाएकाले सरकारी निर्णयको अवज्ञा गर्ने निर्णय गरिएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरकारले तत्काल होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको र आर्थिक तथा मनोवैज्ञानिक रुपमा पिडा भोग्नु परेकाले आगामी असोज १ गतेदेखि व्यबसाय सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष समुद्र जिसी र महासचिव माधवकुमार खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । तर व्यबसाय सञ्चालन गर्दा सरकारले लागु गरेको स्वास्थ्य मापदण्डको भने पालना गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कोरोना भाईरस महामारीको समस्या एकातिर छ भने लामो समयको लकडाउनका कारण व्यबसायीले भोग्नु परेको आर्थिक समस्याले व्यबसायीलाई थिचेको अध्यक्ष जिसीले बताउनु भयो । यस्तो विषम परिस्थितीमा पनि सरकारका तर्फबाट व्यबसायी कुनै प्रकारको राहत पाउन नसकिएको र व्यबसाय सञ्चालनको समेत वातावरण नबनाईदिएकाले सरकारी निर्णयको अवज्ञा गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।
कोरोना भाईरस महामारीका कारण उत्पन्न व्यबसायीका समस्याका बारेमा संघीय, प्रदेश तथा स्थानीय सरकारलाई पटक पटक जानकारी गराएर वातावरण बनाउन आग्रह गरिएको भएपनि कुनै प्रकारको सुनुवाई नभएकाले सरकारको निर्णय अवज्ञा गरेरै भएपनि व्यबसाय सञ्चालन गर्ने निर्णय गर्नु परेको अध्यक्ष जिसीले बताउनु भयो ।
संघले लकडाउन भएको केही समयको भएपनि व्यबसायीलाई घरबहाल छुट गरेका घरधनीलाई धन्यवाद दिँदै बाँकी बहालपनि वातावरण सहज भएपछि क्रमिक रुपमा तिर्ने वातावरण मिलाईदिन घरधनीलाई आग्रह गरेको छ । होटल तथा रेष्टुरेन्ट व्यबसायमा रुपन्देही जिल्लामा १६ अर्व भन्दा बढी लगानी भएको र ३० हजारलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको भएपनि सरकारले राहत दिन नसक्दा जिल्लामा मात्रै एक सय भन्दा बढीले व्यबसाय छोडीसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।