रुपन्देहीबाट सञ्चालन हुने लामो दुरीका सार्वजनिक सेवाका यात्रुवाहक यातायात सुचारु भएको छ । सरकारले गत १ गते देखि नै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि स्थानीय प्रशासनको अन्ल्यौताका कारण आज आईतबार देखि व्यबसायीले स्वच्छिक रुपमा (क्यु फ्रि) सार्वजनिक यातायात सञ्चालन गरेका हुन् । यद्यपी एकाध मात्रै बस सञ्चालनमा आएको बताईएको छ ।
रुपन्देहीमा रहेका पश्चिम नेपाल बस व्यबसायी प्रालि., बुटवल यातायात प्रालि. र सिद्धार्थ यातायात प्रालि. अन्तरगतका व्यबसायीहरुले लामो दुरीमा क्यु फ्रि सञ्चालन गरेको र समितिले ५ गतेदखि मात्रै क्यु व्यबस्थापन गर्ने बुटवल यातायात प्रालिका सचिव दिपकप्रसाद श्रेष्ठले बताउनु भयो ।
रुपन्देहीका तीन वटै व्यबसायिक संस्थाले ५ गतेदेखि मात्रै क्यु व्यबस्थापन गर्ने तयारी गरेका छन् । पश्चिम नेपाल बस व्यबसायी प्रालि.का सञ्चालक नारायणप्रसाद घिमिरेका अनुसार आज र भोली क्यु फ्रि रुपमा सञ्चालन हुने र पर्सी (५ गदे) देखि मात्रै सबै समितिको क्यु निर्धारण गरेर सञ्चालन गर्ने तयारी भएको छ ।
नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंको मुखमा आएर सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि कुल क्षमताको २५ प्रतिशत मात्रै यात्रुले सार्वजनिक सेवाको सुविधा पाउने भएका छन् । लामो लकडाउनबाट थिलिएका व्यबसायीहरु अझै पनि यात्रुहरु सार्वजनिक यातायातमा यात्रा गर्छन भन्नेमा ढुक्क हुन सकेका छैनन् । यहि कुरालाई बुझेर यातायात व्यबसायिक संस्थाहरुले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै सवारी सञ्चालन गर्ने तयारी गरेका छन् ।
अर्कोतर्फ सरकारले निर्धारण गरेको ५० प्रतिशत यात्रु बोक्न पाउने प्रावधानका कारण त्यसको आधा मात्रै यात्रुले सार्वजनिक यातायातको अवसर पाउने भएका हुन् । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । त्यसको मारमा व्यबसायीहरु परेका थिए । ढिलै भएपनि झण्डै ६ महिनामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने सरकारको निर्णयले केही भएपनि राहत महसुस गरेका व्यबसायी स्थानीय प्रशासनको अन्यौलताका कारण गत १ गतेदेखि नै यातायात सञ्चालन गर्न भने सकेनन् ।
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि स्थानीय प्रशासनलाई समयमा परिपत्र नगरेका कारण जिल्ला प्रशासन कार्यालय रुपन्देही सञ्चालन गर्न दिने कि नदिने भन्ने अन्यौलमा परेको थियो । त्यसै कारण जिल्लाको पूर्व निर्धारित ४ गतेसम्मको निशेधाज्ञा अवधिभर पर्खिनकालागि व्यबसायीलाई आग्रह गरेको र त्यसै अनुसार ५ गतेदेखि क्यु व्यबस्थापन गर्ने तयारी गरिएको बुटवल यातायात प्रालिका सचिव श्रेष्ठ बताउनु हुन्छ ।