विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा समुदाय स्तरमा फैलिइसकेपछि प्रदेश पाँच सरकारले नेपाल भारत बिचको सिमा नाकाबाट हुने आवतजावतलाई नियन्त्रण तथा निरुत्साहित गर्ने निर्णय गरेको छ ।
कोरोना भाईरसको संक्रमण अहिले नेपालमा समुदाय स्तरमा फैलिईसकेको र नेपालीहरुको ठूलो पर्व दशैं संघारमा आएका बेला प्रदेश पाँच सरकारले गठन गरेको प्रदेश कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले दशैंको मुखमा सिमा नाकालाई कडाई गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले पटक पटक यस्ता निर्णय गरेपनि सिमा नाकामा ति निर्णयको कार्यान्वयन भने फितलो देखिएको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले चापर्व अगावै हुने आवत जावतलाई निणन्त्रण तथा निरुत्साहित गर्ने निर्णय गरेको छ । धार्मिक सांस्कृतिक चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरि मनाउन र स्थानीय तहहरुले सञ्चालन गर्ने चेतनामुलक कार्यक्रमहरुलाई समेत प्रभावकारी बनाउन आग्रह गरिएको छ ।
कोरोना भाईरस (कोभिड–१९)को संक्रमण अझै बढ्न सक्ने आँकलन गर्दै संक्रमण नियन्त्रणको लागि नेपाल भारत बिचको आवतजावतलाई नै निरुत्साहित गर्ने निर्णय गरेको हो । सिमा व्यबस्थापन र नियन्त्रण तथा छोटो अवधिको लागि हुने आवतजावतलाई निरुत्साहित गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी गराउनु भएको छ ।
तर तोकिएका सिमानाकाबाट स्वास्थ्य मापदण्ड अनुसार आवतजावत भने गर्न पाईने छ । बैठकले तोकिएका नाकाबाट मात्रै सुरक्षित र स्वास्थ्य मापदण्ड अनुसार आवतजावतको व्यबस्था मिलाउने, हेल्थ डेस्क राख्ने र अभिलेख गर्ने समेतको निर्णय गरेको हो ।
संक्रमणको बृद्धिसंगै संक्रमित बिरामीको उपचार मौजुदा भौतिक तथा स्वास्थ्य पूर्वाधारले नभ्याउने सम्भावना रहेकोले लक्षण सहितका बिरामीको उपचारको लागि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल धागो कारखाना) र दाङको बेलझुण्डी आयुर्वेद अस्पतालमा रहेको कोरोना बिशेष अस्थायी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (उच्च निर्भरता एकाई – अक्सिजन थेरापी)को सेवा बिस्तार गर्न सामाजिक बिकास मन्त्रालयले आवश्यक व्यबस्था मिलाउने समेत निर्णय गरेको हो । त्यस्तै लक्षण देखिएका शंकास्पद बिरामीको पीसीआर परिक्षणको व्यबस्थापन तथा लक्षण देखिएका बिरामीको छिटो रिपोर्ट आउने व्यबस्था मिलाउनको लागि मौजुदा प्रयोगशालालाई सुदृण बनाउने समेत निर्णय गरेको छ ।
त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउने, सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भएनभएको शुरुवाती बिन्दु र प्रस्थान बिन्दुमा प्रभावकारी अनुगमनको व्यबस्था मिलाउने, बुनै स्थान बिशेषमा संक्रमण उच्च हुने सम्भावना देखिएमा उक्त स्थानलाई मात्रै निश्चित समय सिल वा निशेधित क्षेत्रको रुपमा घोषणा गर्ने निर्णय गरिएको छ ।
संक्रमण कम भएको जिल्लामा बिद्यालय सञ्चालन गर्न सामाजिक बिकास मन्त्रालयले आवश्यक समन्वय गर्ने, आवश्यकता अनुसार शैक्षिक संस्थामा मर्जरको नीति अवलम्बन गर्ने तथा बिद्यालय सञ्चालन हुने अवस्था भएमा बिद्यालयहरुमा रहेका क्वारेन्टीन र आईसोलेसन सेन्टरहरुलाई वैकल्पिक व्यबस्था गरि स्थानान्तरण गर्ने सम्मको निर्णय गरेको छ । त्यस्तैगरी कोरोना रोग नियन्त्रण तथा उपचार कोषमा तत्काल अर्थ विविध शीर्षकबाट १० करोड रुपैंया रकम उपलब्ध गराउने निर्णय गरेको छ ।