कोरोना भाईरस भएको आशंकामा बिरामीले उपचार नपाउँदा लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको सन्दिखर्क नगरपालिका वडा नं. ४ डिभर्नाका ६२ वर्षीय हरि खनालको उपचार अभावमा सोमबार बिहान ५ बजे ज्यान गएको हो । कोरोना आशंका गरिएपनि मृत्युपछि आएको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
उहाँलाई ज्वरो आउनुको साथै छातीमा समस्या भएपछि शनिबार दिउँसो ३ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थियो । लक्षणका आधारमा कोरोना आशंका गरिएकै कारण तत्कालै अस्पतालले भर्ना समेत लिन नमानेको छोरा नविन खनालले बताउनु भयो । अस्पताल ल्याएको बिरामीलाई चाडो भर्ना गरेर उपचार होस भन्ने थियो तर हारगुहार गरेर साँझ ६ बजेमात्रै भर्ना गर्यो–उहाँले भन्नुभयो ।
कोरोना आशंका गरिएको बिरामीको तत्कालै स्वाब संकलन गर्ने तथा परिक्षण गर्ने काम पनि हुन नसकेको उहाँ बताउनु हुन्छ । उपचारका क्रममा अन्य परिक्षण सबै नर्मल नै आएको र हल्का किड्नीमा समस्या देखिएको उहाँले बताउनु भयो ।
कोरोना आशंका गरिएको बिरामीको भोली बिहान (आईतबार) १० बजेमात्रै अस्पतालले स्वाब संकलन गर्यो । ‘जटिल समस्या भएका बिरामीको तत्कालै स्वाब संकलन गर्ने र आधा एक घण्टा भित्रै पिसिआर रिपोर्ट आउँछ भन्ने सुनेको थिए ।’ उहाँले भन्नुभयो–‘तर यहाँ त स्वाब संकलन पनि अर्को दिन मात्रै भयो र त्यसको रिपोर्ट पनि आज मात्रै आयो ।’
मृतक खनालका आफन्तले बिरामीलाई समस्या भयो भन्दा पनि उपचारमा संलग्न स्वास्थ्यकर्मीले हेलचेक्याई गरेको आरोप लगाएका छन् । बिरामीलाई समस्या भयो भनेर स्वास्थ्यकर्मीलाई बोलाउँदा आधाघण्टापछि मृत्यु भईसकेपछि मात्रै आएको छोरा नविनले बताउनु भयो ।
अस्पतालको लापरवाहीबाट बिरामीको मृत्युपछि पिडित पक्ष र अस्पताल प्रशासन बिच बैठक समेत भएको थियो । बैठकमा अस्पतालले आफ्नो पक्षबाट लापरवाही भएको स्वीकार गरेको र गल्ती सुधार गरेर अंगाडी बढ्ने समेत अस्पतालको तर्फबाट प्रतिवद्धता आएको छलफलमा सहभागि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिनुभयो ।
अस्पतालसंग पिडित पक्षको बैठकले डा. पिके श्रीवास्तवको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति समेत गठन गरेको छ । समितिले यथार्थ छानविन गर्ने र त्यसको प्रतिवेदनका आधारमा कारवाही प्रकृया समेत अंगाडी बढाउन अस्पताल प्रशासन राजी भएको तथा अवका दिनमा त्यस्ता गल्ती नदोहोर्याउने समेत प्रतिवद्धता व्यक्त भएको उहाँले जानकारी दिनुभयो ।