नेपालमा पछिल्लो समयमा बलात्कारका घटना बढेको भन्दै बुटवलमा त्यसका बिरुद्ध प्रदर्शन भएको छ । बुटवलका महिलाहरुले स्वतस्फूर्त रुपमा बलात्कारका बिरुद्धमा मौन प्रदर्शन गरेका हुन् । महिलाहरुको उक्त अभियानमा पुरुषहरुले समेत साथ दिएका छन् । बुटवलको कालिकानगर, चौराहा तथा मिलनचोकमा गरिएको मौन प्रदर्शनमा सहभागिहरुले ‘जो बोल्दैन, उ बलत्कारी’, ‘जो सुन्दैन उ बलत्कारी’, ‘तिमी बलात्कारी’ लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

बलात्कारका घटनालाई पनि ढाकछोप गर्ने प्रबृत्ति बढेको तथा पैसा लिएर मिलाउने प्रबृत्ति मौलाएको भन्दै त्यस्तो प्रबृत्ति बिरुद्ध महिलाहरुले स्वतस्फूर्त रुपमा प्रदर्शन गरिएको कार्यक्रम संयोजक सुस्मा न्यौपानेले बताउनु भयो । बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कारवाहीको लागि जोडदार माग गर्दै करिव सय जना महिला मौन प्रदर्शनमा उत्रिएका हुन् । शनिबार बिहान करिव ९ देखि ११ बजेसम्म प्रदर्शन गरिएको थियो ।

कोरोना भाईरस (कोभिड–१९) महामारी यता नेपालमा बलात्कारका घटना बढ्दै गएको र बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएका व्यक्तिहरुलाई पनि कानुनी कारवाहीको साटो पैसा लिएर मिलाउने, ढाकछोप गर्ने व्यक्ति पनि अपराधी भएको भन्दै त्यस्ता गतिबिधिलाई निस्तेज गर्ने सन्देश दिनको लागि प्रदर्शन गरिएको संयोजक न्यौपाने बताउनु हुन्छ ।
बलात्कार बिरुद्धको अभियान सञ्चालनको लागि महिलाहरुले सामाजिक सञ्जालबाट आह्वान गरेर कार्यक्रम गरिएको र सोही अनुसार तिलोत्तमाको कोटीहवा, बुटवलको ट्राफिकचोक लगायत देशका अन्य स्थानमा समेत प्रदर्शन भएको उहाँले बताउनु भयो ।