कबिता : अनौठो अनशन

270

कबिता : अनौठो अनशन

अर्जुनदृष्टि /

मेरो एउटा लक्ष्य छ
मेरो एउटा जोडदार माग छ
सबैसग आव्हान छ
जिन्दगीमा पहिलो पटक
म पनि अनशन बसेको छु
हो प्लेटी कसेर अनशन बसेको छु
मेरो माग पुरा नभएसम्म
म अनशन तोड्ने छैन
कदापि तोड्ने छैन
बरु भित्र थुनिएर बस्छु
मक्किएर बस्छु
कसैसग नछोइएर बस्छु
कसैलाई नहेरेर बस्छु
मुख लुकाएर बस्छु
नाक ढाकेर बस्छु
मास्क लगाएर बस्छु
आफुले आफैलाइ
बन्द कोठामा थुनेर बस्छु
गित गाएर बस्छु
एक्लै नाचेर बस्छु
एक्लै हासेर बस्छु
एक्लै रोएर बस्छु
एक्लै लेखेर बस्छु
एक्लै पढेर बस्छु
त्यतिमात्र होइन
अतितका दिनहरु सम्झन्छु
आफ्नै दुखसुखहरु सम्झन्छु
परिवार र समाजका आरोह–अवरोहहरु सम्झन्छु
राष्ट्रका परिवर्तनका घुम्तीहरु सम्झन्छु
सम्झन्छु ति प्रिय मान्छेहरु
जसले बैशाखी बनेर हिड्न सघाए
जसले उज्यालो बनेर संसार देखाए
जसले ज्ञान, सिप र संस्कार सिकाए
जसले आफु नखाएर मलाइ मिठो मिठो खुवाए
जसले आफु नलगाएर राम्रा–राम्रा नाना–चाचा लगाए
अनि
बालसखा ति परम मित्रहरुलाइ सम्झन्छु
सगै लुकामारी खेलका ति दिनहरु सम्झन्छु
भाडाकुटी खेलेको त्यो समय सम्झन्छु
हो आजकल यस्तै सम्झेर एक्लै सुत्छु
एक्लै घोत्लिन्छु
एक्लै पल्टन्छु
एक्लै बाथ रुम प्रयोग गर्छु
गुर्जो पानी खाएर बस्छु
बेसार पानी पिएर बस्छु
बाफ लिगेर बस्छु
एक्लै कसरत गरेर बस्छु
योगा, प्राणयाम गरेर बस्छु
अह! म अनशन तोड्दिन
मेरो माग छोड्दिन
मेरो जिवनको सवाल छ
बाच्ने शासको कुरा छ
यो मेरो चट्टानी अडान हो
मेरो माग पुरा नभएसम्म
म अनशन तोड्दै तोड्दिन
दुनियाँलाइ थाहा नहोला
अनशन बस्नुपर्ने कारणहरु
दुनियाँले सोध्ला
मेरा एजेन्डाहरु के के हुन भनेर
कारण के रहेछन् भनेर
मैले एकएक गरि भन्नेछु
मेरा त्यति धेरै माग छैनन्
जम्मा जम्मी एउटा माग छ
हो जम्मा एउटा मात्र माग छ
त्यो हो,
अनशन बस्ने यो मनुष्य
कोरोना मुक्त हुन पाउनुपर्छ
कोरोना मुक्त नभएसम्म
अह! म अनसन तोड्दै तोड्दिन !!!