नेपाली काँग्रेस सांसदलाई सभापति देउवाको निर्देशन : ‘दशैं भत्ता फिर्ता गर्नुहोस्’

435

नेपाली काँग्रेस सांसदलाई सभापति देउवाको निर्देशन : ‘दशैं भत्ता फिर्ता गर्नुहोस्’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरुलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ । सभापति देउवाले संसद सचिवालयले दशैं भत्ताको नाममा बैंक खातामा पठाईदिएको पैसा फिर्ता गर्न निर्देशन गर्नुभएको हो ।
संसदीय दलका नेता समेत रहनु भएका सभापति देउवाले फिर्ता गरिएको रकम कोरोना भाईरस संक्रमणको नियन्त्रण र स्वास्थ्योपचारमा खर्च गर्न समेत सरकारसंग आग्रह गर्नुभएको छ ।
सभापति देउवाको निर्देशन अगावै प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन थापाले सरकारले दिएको दशैं भत्ता फिर्ता गरेको घोषणा गर्नुभएको थियो ।
प्रमुख सचेतक खाँणले सभापति देउवाको निर्देशन अनुसार नै सबै सांसदहरुले दशैं भत्ता वापत बैंक खातामा आएको रकम फिर्ता गर्ने बताउनु भयो । उहाँले फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा खर्च गर्न समेत सरकारसंग आग्रह गर्नुभएको छ ।

पीसीआर परिक्षण र उपचार आफै गर्न भनेकामा काँग्रेसको बिरोध

सरकारले पछिल्लो पटक कोरोना भाईरस संक्रमण भएनभएको पीसीआर परिक्षण र त्यसको उपचार समेत आफै गर्न भनेकोमा काँग्रेसले बिरोध गरेको छ । जनताको ज्यूधनको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै दायित्वबाट सरकार पन्छिन नमिल्ने नेता खाँणले बताउनु भयो ।
कोरोना भाईरसको परीक्षण तथा उपचार गर्ने जिम्मेवारी स्वयम व्यक्तिको भन्ने कुराले सरकार नागरिकको स्वास्थ्य प्रति गैरजिम्मेवार र अनुत्तरदायी देखिएको भन्दै उहाँले यो निर्णय तुरुन्तै फिर्ता गर्न सरकारसंग आग्रह गर्नुभयो ।