नेपाल उद्योग बाणिज्य महासंघको आसन्न अधिवेशनको लागि चुनावी दौडाहामा रहनु भएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफूले चुनाव जितेमा कमन ईश्यु आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महासंघको उपाध्यक्ष समेत रहनु भएका ढकालले शनिबार साँझ बुटवलमा यस क्षेत्रका उद्योगी व्यबसायीलाई आश्वस्त पार्दै आफूलाई महासंघको वरिष्ठ उपाध्यक्ष जिताउन आग्रह गर्नुभएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघको आगामी मंसिरको ११–१३ गते सम्म साधारण सभा तथा अधिवेशनको मिति तय भएको छ । महासंघको आसन्न महाधिवेशनबाट नेतृत्वको दौडमा रहेका ढकालले आफूलाई मात्रै नभएर पुरै टिमलाई जिताउन आग्रह गर्नुभएको हो ।
‘जिल्ला नगरका अधिकांश समस्या एउटै प्रकृतिका हुन्छन्, जिल्लामा समाधान नभएका समस्या केन्द्रमा पठाउने हो ।’ उहाँले भन्नुभयो–‘कतिपय समस्या फोनबाटै पनि समाधान गर्न सकिन्छ, कमन ईश्यु आउन दिन्न ।’ उहाँले अहिलेको नेतृत्वमा त्यसतर्फ ध्यान नगएको पनि उल्लेख गर्नुभयो ।
उहाँले उद्योगी व्यबसायीलाई करछली तथा नाफाखोरको आरोप मात्रै रहेको बताउँदै उद्योगी व्यबसायीको काम कर मात्रै तिर्ने र राजनीतिक दल तथा तीनका नेताहरुलाई चुनाव खर्च दिने मात्रै होर ? भनी प्रश्न समेत गर्नुभयो ।

उहाँले सरकारसंग लविङ् गर्न र पोलिसी बनाउनको लागि व्यबसायिक व्यक्ति नै नेतृत्वमा पुग्नु पर्ने उल्लेख गर्नुभयो । पोलिसी राम्रो बनाएर मुलुकको अर्थतन्त्रलाई नै सुधार गर्नको लागि आफ्नो टिम प्रयाप्त भएको बताउँदै उहाँले गरेको बाचामा तलमाथि समेत नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चुनावी प्रचारको लागि देश दौडाहामा हिडेको ढकालको टिमलाई बुटवल उद्योग बाणिज्य संघले शनिबार बुटवलमा स्वागत गरेको थियो । त्यस अवसरमा बोल्दै महासंघका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिका बिशिष्ट सदस्य चण्डिराज ढकालले देश दौडाहाका क्रममा जिल्ला नगरको साथ र हौसलाले ढकालको जित सुनिश्चित बनाएको बताउँदै व्यबसायिक हक हितको लागि ढकालको टिमलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
महासंघका वर्तमान कोषाध्यक्ष निरज केसीले अझै पनि महासंघमा जिल्ला नगरलाई हेर्ने दृष्टि कमजोर रहेको बताउँदै त्यस्तो समस्या समाधानको लागि पनि चन्द्र ढकालको टिमलाई जिताउन आग्रह गर्नुभयो । त्यस्तै महासंघको लुम्बिनी प्रदेश अध्यक्ष तथा जिल्ला नगरको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार गुणनिधी तिवारीले आगामी तीन वर्षको लागि आफ्नो टिमले प्लान गरिसकेको बताउँदै जिम्मेवारी पाए व्यापक परिवर्तन गर्ने उल्लेख गर्नुभयो ।

चुनावी प्रचारमा रहेको ढकालको टिमलाई ध्यानाकर्षण गराउँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले कोरोना भाईरसको महामारीले उद्योग व्यापार व्यबसाय धाराशाही भएको र मौद्रिक नीतिले सम्बोधन गरेका कुराहरु समेत कार्यान्वयन नहुँदा उद्योगी व्यबसायी ठूलो तनावमा परेकोले समस्या समाधानको लागि महासंघले पहलकदमी गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले महासंघको गरिमा र साखमा समेत गिरावट आएको उल्लेख गर्दै व्यबसायिक समस्या समाधान गर्न सक्ने र महासंघको साख माथि उठाउन सक्ने नेतृत्व आवश्यक रहेको बताउनु भयो । त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, नवराज श्रेष्ठ, ज्ञानेन्द्र कसजु, छिमेकी उद्योग बाणिज्य संघका पदाधिकारीहरुले भनाई राखेका थिए ।
त्यस अवसरमा ढकालको टिमबाट १९ सदस्यले उम्मेद्वारी प्रस्तुत गर्दै आफू सहित टिमलाई जिताउन आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन बुटवल उद्योग बाणिज्य संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।