बुटवल उपमहानगरपालिकाको सटर विवाद : टेण्डर खारेज गर्नुपर्ने व्यबसायीको माग

1.3K

बुटवल उपमहानगरपालिकाको सटर विवाद : टेण्डर खारेज गर्नुपर्ने व्यबसायीको माग

बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेका व्यबसायिक सटरमा आह्वान गरिएको टेण्डर खारेज गर्नुपर्ने टेण्डरमा सहभागि व्यबसायीहरुले माग गरेका छन् । टेण्डर दर्ताको समय सकिईसकेपछि पनि नगरपालिकाले घुसपैठ गरेर टेण्डर दर्ता गरेको भन्दै त्यो खारेज हुनु पर्ने उनीहरुले माग गरेका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ५ मा नगरपालिकाको स्वामित्वमा रहेका ८७ वटा व्यबसायिक सटरको म्याद सकिएको दुई वर्ष पछि सोमबार १२ बजेसम्मको म्याद दिएर नगरपालिकाले नयाँ टेण्डर आह्वान गरेको थियो । तर नगरपालिकाले ३ बजेसम्म टेण्डर दर्ता गरेको व्यबसायिको आरोप छ । नगरपालिकाले बोलपत्र आह्वान गर्दा २ बजे टेण्डर खोल्ने उल्लेख गरेको थियो ।
‘हामी नतिजा सुन्न आतुर थियौं, तर नगरपालिकाले ३ बजेसम्म धमाधम टेण्डर दर्ता गरिरहेको थियो ।’ उक्त बिषयमा जानकारी गराउनको लागि मंगलबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सटर व्यबसायी संघका अध्यक्ष खुमानन्द खनालले भन्नुभयो–‘खुल्ला प्रतिस्पर्धामा जो पनि सहभागि हुन पाईन्छ, हामीले त्यसको बिरोध गरेका होईनौं, बिधि र पद्धती अनुसार नभएकाले त्यो मान्दैनौं ।’
नगरपालिकाले १२ बजेसम्म टेण्डर दर्ता गर्ने र २ बजे खोल्ने समय दिएपनि ३ बजेसम्म पनि धमाधम टेण्डर दर्ता गरेपछि व्यबसायीले नगरपालिका घेराउ समेत गरेको थिए । उनीहरुलाई प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
२०६० सालमा शोर्पा टि कम्पनी र बुटवल नगरपालिका बिचको १५ वर्षे संझौतापछि उनीहरुले ती सटरमा व्यबसाय समेत गर्दै आएका थिए । दुई वर्ष अंगाडी नै सम्झौताको म्याद सकिएपनि शेर्पा टिको आग्रहमा नगरपालिकाले २ वर्षको म्याद थपेको व्यबसायीहरुले बताएका छन् ।
नगरपालिकाले बोलपत्र आह्वान गर्दा राष्ट्रिय बाणिज्य बैंकमा पैसा जम्मा गरेको रसिद बुझाउनु पर्ने उल्लेख गरेपनि समय सिमा नाघेर दर्ता गरिएका टेण्डरको खाममै पैसा जम्मा गरेको समेत आन्दोलित व्यबसायीको आरोप छ । त्यस्तै नगरपालिकाले घुसपैठ गर्नकै लागि ई–टेण्डर नगरेको समेत उनीहरुले आरोप लगाएका छन् । अर्का एक व्यबसायी टिकाराम पौडेलले पनि आफूहरुलाई भित्र समेत जान नदिएको र २ बजे टेण्डर खोल्ने समय भएपनि ३ बजेसम्म धमाधम टेण्डर दर्ता गर्ने काम गरेको बताउनु भयो ।


कोरोना भाईरस (कोभिड–१९) महामारीले थिल्लीएको वेलामा सडकमा छटपटाई रहेको मान्छेलाई पानी खुवाउनु पर्ने बेलामा नगरपालिकाले चलखेल तथा धादली गरेर साना व्यबसायीलाई बिस्थापित गर्न खोजेको अध्यक्ष खनालको आरोप छ ।
तर नगरपालिकाले भने उनीहरुको आरोपको अस्वीकार गरेको छ । व्यबसायीले लगाएको आरोप गलत भएको बताउँदै बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत बिष्णु खनालले न्यू झिकेर विवाद गर्ने काम मात्रै भएको प्रतिक्रिया दिनुभयो । टेण्डर दर्ता गर्ने समय १२ बजेसम्म तोकिएको र सोही अनुसार काम भएको बताउँदै उहाँले टेण्डर असफल गराउनको लागि व्यबसायीले प्रपन्च गरेको प्रत्यारोप लगाउनु भयो । उहाँले टेण्डर खारेज गर्ने कुनै सम्भावना पनि नभएको जानकारी गराउनु भयो ।
त्यस्तै बैंकमा जम्मा गर्नुपर्ने धरौटी वापतको रकम खाममा बुझाएको भन्ने व्यबसायीको आरोपलाई खण्डन गर्दै वरिष्ठ अधिकृत खनालले भन्नुभयो–शिलबन्दि टेण्डर दर्ता भएकाले खाम भित्र के छ भन्ने कुराको आफूलाई कुनै जानकारी नभएको उत्तर दिनुभयो । उहाँले भन्नुभयो–‘खाम भित्र के छ भन्ने कुरा थाहा हुने कुरा भएन, धरौटी वापतको रकम नगद पनि आएको छ, त्यो मुल्यांकन समितिले मुल्यांकन गर्दा भ्यालिड ईनभ्यालिड गर्ने काम उसको हो ।’
बुटवल उपमहानगरपालिकाले ८७ वटा सटरमा गरेको टेण्डर आह्वानमा ३४१ वटा टेण्डर परेको पनि उहाँले जानकारी गराउनु भयो ।