उद्योग संघको ४३ औं स्थापना दिवस : औद्योगिक पत्रकारिता पुरस्कार खनाललाई प्रदान

1.3K

उद्योग संघको ४३ औं स्थापना दिवस : औद्योगिक पत्रकारिता पुरस्कार खनाललाई प्रदान

रुपन्देही उद्योग संघले प्रदान गर्ने यस वर्षको औद्योगिक पत्रकारिता पुरस्कार बुटवल टुडे दैनिकमा कार्यरत पत्रकार कृष्ण खनाललाई प्रदान गरिएको छ । औद्योगिक बिकासको लागि कलम चलाउने पत्रकारलाई सम्मान गर्दै आएको उक्त पुरस्कार सोमबार बुटवलमा आयोजित संघको ४३ औं स्थापना दिवस तथा ४२ औं वार्षिक साधारण सभाको बिशेष कार्यक्रममा प्रदान गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष बाबुराम बोहोराले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर उक्त पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशी ३५ हजार ५ सय ५५ रुपैंया रहेको छ । त्यस अवसरमा बोल्दै पुरस्कृत पत्रकार खनालले संघले प्रदान गरेको सो पुरस्कारले आफूलाई पत्रकारिताको क्षेत्रमा थप जिम्मेवार बनाएको बताउनु भयो ।


सोही अवसरमा संघले संघका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरेको छ । संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका पूर्व अध्यक्षहरु प्रधुम्नलाल श्रेष्ठ, डम्बरदेव अर्याल, महेन्द्रनारायण श्रेष्ठ, सतिसचन्द्र कसौधन, एजाज आलम, तेजकुमार पाठक, बोनिन पिया, दिनेशराज रेग्मी र गणेशप्रसाद अधिकारीलाई प्रसंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यस्तै पूर्वअध्यक्षहरु स्वर्गीय चन्द्रमान श्रेष्ठ र स्वर्गीय परमानन्द खरेललाई समेत परणोपरान्त सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले नीजि क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । कार्यक्रममा भिडियो मार्फत जोडिनु भएका मन्त्री पौडेलले नीजि क्षेत्रको उत्थान बिना मुलुकको अर्थतन्त्रलाई सवल गर्न नसकिने स्मरण गर्दै सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले नीजि क्षेत्रको समस्या समाधानको लागि सरकार तयार नभएको बताउनु भयो । उहाँले भन्नुभयो–‘कि समस्या समाधान नै हुन सकेका छैनन्, समाधान भएका समस्याको समेत निर्णय उल्ट्याउने काम भएको छ ।’ निर्णय भएका विषयमा समेत कार्यान्वयन पक्ष कमजोर हुँदा नीजि क्षेत्रले धेरै समस्या व्यहोर्नु परेको भन्दै उहाँले समस्या समाधानको लागि परिसंघले सरकारसंग संवादका माध्यमबाट समाधानको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संघका पूर्व अध्यक्ष समेत रहेका नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले सरकारमा प्रतिनीधित्व गर्ने व्यक्तिहरुले समस्यालाई गम्भिरताका साथ नलिएकै कारण समस्या समाधान हुन नसकेको आरोप लगाउनु भयो । ‘राज्यलाई पैसा चाहियो भनेपछि ठिक वेठिक सम्म अध्ययन नगरिकनै सरकारले अन्तशुल्क लगाउने काम गरेको छ ।’ उहाँले सरकारसंग प्रश्न गर्नुभयो–‘यहाँ भिसिटिएस नगरे २५ हजार सम्म जरिवाना गरिन्छ, सर्वर डाउन भएको नाममा गाडी खडा हुन्छन्, त्यसको क्षेतीपूर्ती गरिन्छ की गरिँदैन ?’
त्यस अवसरमा संघका महासविचव जिवकान्त काफ्लेले संघको वर्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष सचितसन्द्र कसौधन, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, वरिष्ठ उपाध्यक्ष माधव पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, महासचिव जिवकान्त काफ्ले, सचिव हिरामणी भट्टराई लगायतले उद्योगी व्यबसायीले भोग्नु परेका समस्याहरु उठान गर्दै समाधानको लागि सरकारसंग आग्रह गरेका थिए ।