प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (आईतबार) देशभर सरकार बिरुद्ध सडकमा प्रदर्शन गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्रि खरिदमा भएको भ्रष्टाचार तथा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको बिरोध गर्दै प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले ७७ वटै जिल्लामा सरकार बिरुद्ध प्रदर्शन गरेको हो ।
त्यसै अनुसार नेपाली काँग्रेसले रुपन्देहीको जिल्ला सदरमुकाम भैरहवामा पनि प्रदर्शन गरेको थियो । सडक प्रदर्शन पछि बुद्धचोकमा आयोजित कोण सभामा काँग्रेसका नेताहरुले दुई तिहाईको कम्युनिष्ट सरकार गलत बाटोमा अंगाडी बढेको र अझै पनि नसच्चिए सत्ताबाट मात्रै नभएर देशबाट कम्युनिष्ट नै पतन हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार बिरुद्ध शुन्यसहनशिताको नारा लगाएपनि सरकारका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त हुँदा प्रधानमन्त्री मुकदर्शक बनेर बसेको तथा उनीहरुलाई नै काखि च्याप्ने काम गरेको आरोप लगाए । कोण सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद सुरेन्द्र पाण्डेले वाईड वडी खरिद प्रकरण, वालुवाटार जग्गा काण्ड, प्रिन्टिङ् प्रेस खरिद प्रकरण मात्रै नभएर यस्ता भ्रष्टाचारका तमाम उदाहरण रहेको बताउँदै त्यसमा संलग्न व्यक्तिलाई कारवाही गर्नुको साटो स्वयम् प्रधानमन्त्रीले काखी च्याप्ने काम गरेको आरोप लगाउनु भयो ।
संसदीय समिति सार्वजनिक लेखा समितिले कारवाही सिफारिस गरेपनि भ्रष्टाचारमा संलग्न भएका व्यक्तिलाई कारवाही गर्नुका साटो प्रधानमन्त्री आफैले काखी च्यापेकोले भ्रष्टाचारमा स्वयम् प्रधानमन्त्रीको संलग्नता पुष्टि भएको पाण्डेको आरोप छ । कोरोना महामारीका बिचमा पनि बाध्यतावस मुखमा पट्टि बाँधेर सडकमा उत्रिनु परेको बताउँदै उहाँले अब काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो । ‘हामीले व्यबस्थाको बिरोध गरेका होईनौं ।’ राजसंस्था पुनःस्थापनाको नाममा सडकमा भएका प्रदर्शन तर्फ औंल्याउँदै उहाँले भन्नुभयो–‘धमिलो पानीमा माछा मार्न खोजिएको छ, पर्दा पछाडी जो भएपनि सम्हालिएर बस्न आग्रह छ ।’
त्यस्तै प्रतिनीधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार यहि रबैयामा रहिरहे राणा, राजा फालेको काँग्रेसले कम्युनिष्टलाई फाल्न कुनै समस्या नभएको बताउनु भयो । उहाँले सरकारकै कारण व्यबस्था नै कमजोर हुँदै गएको बताउँदै लोकतान्त्रिक शासन व्यबस्थालाई संस्थागत गर्ने र बचाउने काम सरकारकै भएको स्मरण गराउनु भयो ।

सभापती शाहले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई समेत सक्रिय राजनीति गर्ने मन भएर राष्ट्रपतिको कार्यालय छोडर आउन चेतावनी दिनुभयो । ‘राष्ट्रपतिको कार्यालय संवैधानिक निकाय हो ।’ उहाँले भन्नुभयो–‘राष्ट्रपतिलाई म संवैधानिक भएर बस्न आग्रह गर्दछु ।’ उहाँले राष्ट्रपति कार्यालयलाई पार्टीको कार्यालन नबनाउन समेत आग्रह गर्नुभयो । उद्यागी, व्यापारी, किसानको साथमा नेपाली काँग्रेस रहेको बताउँदै उहाँले नैतिकता भए कृषि मन्त्रीले तत्कालै राजिनामा गर्नुपर्ने समेत भनाई राख्नुभयो । ‘धान रोप्दा पनि मल थिएन, गहुँ छर्दा पनि मल छैन, कृषि मन्त्रीले के हेरेर बसेको छ ?’ उहाँले प्रश्न गर्नुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनीधि सभा सदस्य प्रमोद यादव, काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, पूर्व सांसद ईस्तियाक अहमद खान, देवदह नगरपालिकाका प्रमुख तथा क्षेत्र नं. १ का सभापति हिराबहादुर खत्री, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, काँग्रेस रुपन्देहीकी उपसभापति सरिता चौधरी, सचिव रामकृष्ण खाँण लगायतले प्रधानमन्त्री ओली हिटलर बनेको र सरकारकै कारण राजावादीहरु सलवलाउन थालेको आरोप लगाएका थिए । उनीहरुले दुई तिहाई बहुमतको सरकार आएपछि स्थायीत्व हुने अपेक्षा गरिएको भएपनि सरकारले कर उठाउने र भ्रष्टाचार गर्ने मात्रै काम गरेको, बलात्कार तथा हत्या भईरहेको र त्यस्ता अपराधमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने कुनै काम नगरेको आरोप लगाएका थिए ।
सरकारका बिरुद्ध भैरहवाको बर्मेलीटोलबाट सुरु भएको प्रदर्शन देवकोटाचोक, मिलनचोक हुँदै बुद्धचोकमा आएर कोण सभा गरिएको थियो । सरकार बिरुद्धको प्रदर्शनमा गाउँगाउँबाट काँग्रेसले हजारौं नेता कार्यकर्ता उतारेको थियो ।