प्रधानमन्त्रीको संसद विघटन सिफारिसमा राष्ट्रपतिको लालमोहर : प्रतिनिधिसभा भंग

1.3K

प्रधानमन्त्रीको संसद विघटन सिफारिसमा राष्ट्रपतिको लालमोहर : प्रतिनिधिसभा भंग

संसद विघटन गर्ने सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले लालमोहर लगाउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद बैठक डाकेर आईतकार संसद विघटनको लागि राष्ट्रपतिलाई सिफारिस गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले संसद विघटन संगै ताजा जनादेशको लागि आगामी बैशाख १७ र २७ मा दुई चरणमा आम निर्वाचन गर्न सिफारिस गरे अनुसार नै राष्ट्रपति भण्डारीले संसद विघटन स्वीकृत गर्नुका साथै आम निर्वाचनको मिति समेत तोक्नु भएको हो । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधान विपरित भएको भन्दै बिरोध गरेका थिए ।
तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन समेत तोक्नु भएको छ ।