राष्ट्रिय सहकारी बैंक लिमिटेडले रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको मंगलबार लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले उद्घाटन गर्नुभएको हो ।
बैंकको ५४ औं शाखा कार्यालयको उद्घाटन कार्यक्रममा उपाध्यक्ष गौतमले प्रदेश सरकार सहकारीसंग सहकार्य गर्न तयार रहेको बताउँदै त्यसको लागि बजेटको समेत व्यबस्था गरिएको जानकारी गराउनु भयो । उहाँले सहकारी संस्थाले सहकारीको उद्देश्य अनुसारका काम गर्न आग्रह गर्दै गरिबि निवाहरणको लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न समेत सहकारीहरुलाई आग्रह गर्नुभयो ।
४४ शाखा कार्यालय रहेको राष्ट्रिय सहकारी बैंकलाई यो वर्ष थप २४ शाखा विस्तारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृती दिए बमोजिम लुम्बिनी प्रदेशको रुपन्देहीमा भैरहवा र तिलोत्तमा, दाङ्को तुलसीपुर, बर्दियाको भूरिगाउँ तथा बाँकेको नेपालगञ्ज गरि ५ वटा शाखा कार्यालय थपिंदैछन् । यस अंगाडी लुम्बिनी प्रदेशमा नवलपरासीको बर्दघाट, रुपन्देहीको बुटवल, दाङको घोराही र बाँकेको कोहलपुर गरी ४ वटा शाखाबाट बैंकिङ् कारोवार गर्दै आएको थियो । अब लुम्बिनी प्रदेशमा राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय ९ पुग्नेछ ।

रुपन्देहीको तिलोत्तमा शाखा पुस महिना भरीमा ड्राईभरटोलमा सञ्चालनमा आउने बैंकले जनाएको छ । राष्ट्रिय सहकारी बैंकले सहकारीको मात्रै खाता खोल्न र सहकारीसंग मात्रै कारोवार गर्न पाउँछ । २ अर्ब ६० करोड शेयर पुँजी रहेको राष्ट्रिय सहकारी बैंकले २७ अर्ब लगानी गरेको छ भने ६० अर्ब बढीको कारोवार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले जानकारी गराउनु भयो ।
राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका अध्यक्ष केवी उप्रेतीको अध्यक्षतामा भएको शाखा कार्यालय उद्घाटन कार्यक्रममा सञ्चालक तथा लुम्बिनी प्रदेश संयोजक विजया धिताल, सञ्चालक माधवलाल देवकोटा, राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचन, केन्द्रीय बचत तथा ऋण सहकारी संघ शिक्षा समिति सदस्य ज्ञानु पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम शाखा प्रवन्धक आलोक शिवाकोटीको सञ्चालनमा भएको थियो ।