संसद विघटन बिरुद्ध काँग्रेसको देशव्यापी प्रदर्शन : निर्णय नसच्चिए मुलुक अस्थिरताको बाटोमा

1.3K

संसद विघटन बिरुद्ध काँग्रेसको देशव्यापी प्रदर्शन : निर्णय नसच्चिए मुलुक अस्थिरताको बाटोमा

नेपाली काँग्रेस प्रतिनीधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले गरेको संसद विघटनको असंवैधानिक कदम अदालतले सच्याउने विश्वास व्यक्त गर्नुभएको छ । असंवैधानिक कदम नसच्याए लाखौं जनता सडकमा आउने बताउँदै उहाँले मुलुकलाई अस्थिरताको बाटोमा जनाबाट रोक्न पनि संसद पुनस्थापना हुनु पर्ने भनाई राख्नुभयो । सोमबार रुपन्देहीको भैरहवामा आयोजना गरिएको संसद विघटन बिरुद्धको प्रदर्शन पछि आयोजित कोण सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा गरिएको संसद विघटन असंवैधानिक भएको दावी गर्दै प्रधानन्त्री र राष्ट्रपतिलाई समेत संवैधानिक दायरामा बस्न सुझाव दिनुभयो ।

जनताले रगत पसिना बगाएको आन्दोलनको जगबाट बनेको संविधानलाई धाराशायी बनाउने गरि संसद विघटन गरिएको बताउँदै उहाँले भन्नुभयो–‘अहिले त हजारौं जनता सडकमा आएका छौं, भएन भने लाखौं जनता सडकमा आउने छौं ।’ प्रतिनीधि सभा (संसद) विघटनको बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देश व्यापी रुपमा सडकमा प्रदर्शन गरेको थियो । नेपाली काँग्रेसले प्रत्येक प्रतिनीधि सभा निर्वाचन क्षेत्रमा सरकारको उक्त कदमको बिरोध गर्दै प्रर्दशनमा उत्रिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, प्रदेश सभा सदस्य रमा अर्याल, क्षेत्रीय सभापति मात्रिका यादव लगायतले भनाई राख्नुभएको थियो । यहि पुस ७ गते सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर आन्दोलनमा उत्रिएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतका अरु दलहरु पनि त्यसको बिरोधमा सडकमा ओर्लिएका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार सोमबार रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको छ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को आयोजनामा भएको प्रदर्शनमा हजारौं कार्यकर्ताले संसद विघटनको विरोध गर्दै विघटित संसद पुनस्थापनाको माग सहित नारावाजी गरेका थिए । बुटवलको अस्पताल लाईनबाट सुरु भएको बिरोध प्रदर्शन अमरपथ, हाटबजार जेसीज चोक हुँदै ट्राफिकचोकमा आएर कोण सभा भएको थियो । कोण सभामा बोल्ने वक्ताहरुले संवैधानिक मुल्यमान्यता विपरित प्रधानमन्त्री ओलीले संसद विघटन गरेर सर्वसत्तावाद लाद्ने प्रयास गरेको आरोप लगाएका थिए ।

क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै महासमिति सदस्य युवराज गिरीले दुई तिहाई बहुमत प्राप्त सरकारले संसदको सामना गर्न नसकेर संसद विघटन गर्नु दुर्भाग्य रहेको बताउनु भयो । उहाँले संविधानमै नभएको व्यबस्थाको प्रयोग गरेर संसद विघटन भएकाले अदालतले संसद पुस्थापना गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
कोणसभामा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, बुटवल नगर सभापति खेलराज पाण्डे, महासमिति सदस्य बालकुमारी भण्डारी, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाही, क्षेत्रीय सचिव पर्सुराम भट्टराई लगाएतले बोल्नु भएको थियो ।