विघटित प्रतिनीधि सभा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ट्रयाक बाहिर गएको राजनीतिलाई मूलधारमा ल्याउने कामको नेतृत्व अब काँग्रेसले गर्ने बताउनु भएको छ । संविधान निर्माणमा नेतृत्व गरेको काँग्रेसले त्यसको संरक्षण र संस्थागत गर्ने कामको समेत नेतृत्व अब काँग्रेसले नै गर्ने दावी गर्दै उहाँले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले राष्ट्रिय राजनीतिलाई ट्रयाक बाहिर लगेको समेत बताउनु भयो ।
दुई तिहाई बहुमत प्राप्त सरकारलाई संसद विघटन गर्ने कुनै अधिकार नै नभएको दावी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले प्रधानमन्त्री केपी ओली एकदलीय सर्वसत्तावाद र अधिनायकवादको यात्रामा अंगाडी बढेको समेत आरोप लगाउनु भयो । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले संसद विघटन गरेर चुनाव गराउने भन्दा पनि देशलाई अन्योलतातर्फ अंगाडी बढाएको समेत बताउनु भयो ।
‘ट्रयाक बाहिर गएको राष्ट्रिय राजनीतिलाई मूल धारमा ल्याउने काम अब नेपाली काँग्रेसले नै गर्छ ।’ पत्रकारहरुको जिज्ञासामा नेता खाँणले भन्नुभयो–‘यो वा त्यो पक्ष भन्ने हुँदैन, सबैसग छलफल हुन्छ, कुनैपनि परिस्थितीमा काँग्रेसले संवादको ढोका बन्द गर्दैन ।’ नेता खाँणले राष्ट्रपति कार्यालय प्रधानमन्त्री कार्यालयको हल्कारा बनेको बताउँदै संविधानमा हुँदै नभएको व्यबस्थाको प्रयोग गरेर संसद विघटन प्रस्ताव स्वीकृत गरेर राष्ट्रपति कार्यालय समेत विवादमा आउने काम गरेको टिप्पणी गर्नुभयो ।
‘संविधानमा २ वर्षसम्म अविशवासको प्रस्ताव सम्म गर्न नपाइने व्यबस्था गरिएको छ ।’ उहाँले भन्नुभयो–‘बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउँदैन ।’ त्यसैले नेपाली काँग्रेसले सरकारको यो कदमलाई असैवैधानिक र अलोकतान्त्रिक कमदको रुपमा लिएर आन्दोलनमा होमिएको समेत उहाँले बताउनु भयो । प्रधानमन्त्री भएदेखि नै ओलीले निरन्तर संविधानको वर्खिलावमा काम गर्दै आएको बताउँदै उहाँले पछिल्लो पटक कार्यपालिका, व्यबस्थापिका र न्यायपालिका बिचको शक्ति सन्तुलनमा समेत खलल पुग्नेगरी संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएको आरोप लगाउनु भयो । उहाँले बैशाख १७ र २७ मा दुई चरणमा निर्वाचन गर्ने भनिएपनि निर्वाचनको चाहना प्रधानमन्त्रीलाई नभएको बताउँदै कोरोना भाईरसको महामारीलाई देखाएर मुलुकलाई संकटकाल लगाउन सक्ने सम्मको उहाँले विश्लेषण गर्नुभयो । यसले मुलुकमा प्रतिगमनको खतरा बढेको औंल्याउँदै त्यसलाई कसरी रोक्न सकिन्छ काँग्रेसको ध्यान त्यतातिर रहेको जानकारी गराउनु भयो ।
कोरोना महामारीको नाममा लकडाउन बाहेक सरकारले केही नगरेको आरोप लगाउँदै नेता खाँणले करिव ३ वर्षको अवधिमा मुलुकमा अराजकतामात्रै फैलाउने काम गरेको उल्लेख गर्नुभयो ।