नेपाली काँग्रेसद्वारा प्रतिनिधि सभा विघटनविरुद्ध देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन

541

नेपाली काँग्रेसद्वारा प्रतिनिधि सभा विघटनविरुद्ध देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन

बुटवल । नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । यसैबिच रुपन्देहीका १६ वटा स्थानमा विरोध सभा सम्पन्न भएको छ ।


कांग्रेस रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरपालिकाको ट्राफिक चोक, सैनामैना नगरपालिकाको बुद्धनगर, तिलोत्तमा नगरपालिकाको मणिग्राम, देवदह नगरपालिकाको खैरेनी, सिदार्थ नगरपालिकाको भैरहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको महिलावार बजारमा विरोध प्रर्दशन र सभा सम्पन्न भएको छ ।

त्यसैगरि रुपन्देहीको रोहिणी गाउपालिकाको पोखरभिण्डी, ओमसतियाको हाटिफर्साटिकर, शुद्धोधनको फर्साटिकर, सियारीको हर्नैया , गैडहवाको मंगालहपुर, कञ्चनगाउपालिकाको हरैया बजारमा कार्यक्रम तय गरिएको छ । त्यसैगरि मयादेवी गाउपालिकाको वरकसिया, कोटहीमाईको मजगांवा, मर्चवारीमाईको वडवासिया, सम्मरीमाईको रोहिणीहवामा सम्पन्न भएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आज मुलुकभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।

अब माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने काँग्रेसले निर्णय गरिसकेको छ । यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।