नेकपा प्रचण्ड–माधव समुहका लुम्बिनी प्रदेश ईञ्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीलाई ‘कम्युनिष्टको खोल ओढेको प्रतिगमनकारी’को संज्ञा दिनुभएको छ । प्रधानमन्त्री ओलीले बहुमतको सरकार हुँदाहँुदै संसद (प्रतिनीधि सभा) विघटन गरेर देश र पार्टीलाई समेत बर्बादीतर्फ धकेली प्रतिगमनको याता तय गरेको बताउँदै यसले अव केपी ओली र उनको गुटको समेत अस्तित्व सकिएको दावी गर्नुभयो ।
संसद विघटन बिरोधमा संघर्ष गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ं प्रचण्ड–माधव समुहले यहि माघको १५ गते बुटवलमा शक्ति प्रदर्शनको तयारी गरेको छ । सोही तयारीको बिषयमा जानकारी गराउन शनिबार प्रदेश पार्टी कार्यालय बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ईञ्चार्ज ज्ञवालीले प्रधानमन्त्रीको संसद विघटनको कमद जनता र देशको लागि समेत ठूलो दुर्भाग्य भएको र देशलाई पछाडी धकेल्ने काम आफूहरुले सफल हुन नदिने समेत दावी गर्नुभयो । ‘हिजो काठमाण्डौमा भएको शक्ति प्रदर्शन अन्तिम होईन, सुरुवात मात्रै हो ।’ उहाँले भन्नुभयो–‘यसले हामीलाई उत्साही बनाएको छ, वातावरण राम्रो बनेको छ ।’
केपी ओली तत्कालिन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएको थियो । नेता ज्ञवालीले भन्नुभयो–‘महाधिवेशनले गलत मान्छेलाई अध्यक्षमा चुनेपछि स्वीकार गर्नुको विकल्प थिएन, ओलीको पश्चगमनको सोंच बिरुद्ध आफूहरु वषौंदेखि लड्दै आएको र अव ओलीको पश्चगमनको याता समाप्त हुन्छ ।’
प्रतिगमनले राजा मात्रै नभएर राजसंस्था नै समाप्त भएको स्मरण गर्दै ज्ञवालीले अहिले ओलीको प्रतिगमनले पनि ओली मात्रै नभएर ओली गुट नै समाप्त हुने चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाटै कारवाही गर्ने तयारी भईरहेको बताउँदै अव सच्चिएर आएपनि पार्टी सदस्यता नदिईने बताउनु भयो । जनताको बहुदलीय जनवादको यात्रामा रहेको एमाले र माओवादी केन्द्र बिच पार्टी एकता पछि बनेको नेकपाले जनताको जनवादको कार्यदिशा तय गरेको थियो । पत्रकारहरुको जिज्ञाशामा नेता ज्ञवालीले अब नेकपाको गन्तव्य समाजवाद रहेको प्रष्ट पार्नुभयो । ‘अव हाम्रो गन्तव्य समाजवादको यात्रा हो, संविधानले पनि समाजवाद भनेको छ ।’ उहाँले भन्नुभयो–‘यो विलकुल लोकतान्त्रिक हुन्छ, बहुदलीय प्रतिस्पर्धाको आधारमा हुन्छ, काँग्रेसले भनेजस्तो पुजीवादी समाजवाद होईन, बैज्ञानिक समाजवाद हो ।’
पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश संघर्ष समितिका अध्यक्ष ठाकुर गैरेले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमले पार्टी एकता बलियो बनाउने, सदृढ गर्ने, समाजवादको यात्रा बलियो बनाउनेगरी लागेका आफूहरुलाई विडाबोध गराएको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले संविधान तोडेर प्रतिगमन घोषणा गरेको बताउनु भयो ।
संसद विघटनको बिरुद्ध संघषमा उत्रिएको प्रचण्ड–माधव समुहको नेकपाले यहि माघको १५ गते बुटवलमा लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदर्शनको तयारी गरेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता उतारिने र पुष्पलाल चोकको बिरोध सभा गरिने संघर्ष समितका अध्यक्ष गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार बुटवलको गोलपार्क, राजमार्ग चौराहा, नेपालगञ्ज रोडमा बिरोध प्रदर्शन पछि पुष्पलाल चोकमा पुगेर बिरोध सभा गरिने छ । बिरोध प्रदर्शन तथा बिरोध सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरु आउने उहाँले जानकारी गराउनु भयो ।