पश्चिम नवलपरासी जिल्लामा पहिलो पटक औपचारिक रुपमा रोटरी क्लव स्थापना गरिएको छ । रुपन्देहीको बुटवलमा सञ्चालित रोटरी क्लव अफ बुटवल साउथको स्पोन्सरमा पश्चिम नवलपरासीको परासीमा शनिबार साँझ ‘रोटरी क्लव अफ नवलपरासी’ स्थापना भएको औपचारिक रुपमा घोषणा गरिएको हो ।
क्लवको चार्टर प्रिजेन्टेशन सेरेमोनीलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री वैजनाथ चौधरीले उद्योगी व्यबसायीले आफ्नो पेशा व्यबसायसंगै सामाजिक सेवामा उत्प्रेरणात्मक काम सह्रानीय भएको बताउनु भयो । उहाँले सामाजि संघसंस्था, क्लवहरुले गर्ने काम निश्चित दायरामा हुने भएकाले सकेसम्म दायरा फराकिलो गराउन समेत सुझाव दिनुभयो ।

त्यस अवसरमा क्लव स्पोन्सर रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेस भुर्तेलले रोटरी क्लव समाज सेवाको लागि स्थापना भएको र रोटरीले शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी लगायतका ७ वटा विषयमा काम गर्ने भएकोले त्यस्ता क्षेत्रको पहिचान गरेर काम गर्न समेत नवगठित क्लवलाई सुझाव दिनुभयो । विशेष गरेर रोटरीले प्राथमिकता निर्धारण गरेको क्षेत्रमा कमजोर भएको समुदाय छनौट गरेर त्यहा रचनात्मक काम गर्ने भएकाले त्यस्तो गाउँको खोजी गरेर काम गर्न पनि उहाँको सुझाव छ । उहाँले कोभिड–१९ को महामारीको समयमा मात्रै त्यससंग जुध्नको लागि नेपालमा रोटरीका माध्यमबाट ७ करोड बढी सहयोग भएको जानकारी गराउनु भयो ।

त्यस्तै नवगठित क्लवका चार्टर अध्यक्ष सुमनगोपाल आचार्यले रोटरीको भिजन र मिसन मन परेकोले आफूहरुले नवलपरासीमा पहिलो रोटरी क्लव स्थापना गरेको जानकारी गराउँदै आगामी दिनमा रोटरीको उद्देश्य अनुरुपका कार्यक्रम ल्याउनुको साथै प्राथमिक क्षेत्रमा पर्ने एउटा गाउँ र एउटा बिद्यालय छनौट गरेर त्यसको उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रोटरी क्लव अफ बुटवल साउथले त्यसप्रकारका २ वटा रोटरी भिलेज कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै रोटरीले नेपालमा पूर्ण साक्षरता अभियान समेत सञ्चालनको तयारी गरेको छ ।
क्लवको चार्टर प्रिजेन्टेशन सेरेमोनीमा बोल्दै रोटरी क्लवका एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताले रोटरी नभएको नवलपरासी जिल्लामा क्लव स्थापना गरेर सामाजिक सेवामा एउटा इटा थपिएको बताउँदै क्लवले रोटरीको उद्देश्य अनुरुपका कार्यक्रम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, रोटरी क्लव अफ बुटवल साउथका संस्थापक अध्यक्ष आरसी आचार्य, रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष गौतम भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम रोटरी क्लव अफ बुटवल साउथका सचिव निशानबाबु कार्कीको सञ्चालनमा भएको थियो ।