बुटवल उपमहानगरपालिका वडा नं. ११ को पूर्व सिद्धनगर दुर्गापथ टोल बिकास संस्थाको अध्यक्षमा मायाँ ज्ञवाली निर्वाचित हुनु भएको छ । संस्थाको शुक्रबार बुटवलमा सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनले उक्त टोल बिकास संस्थाको अध्यक्षमा सर्वसम्मत रुपमा ज्ञवालीलाई चयन गरेको हो ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले टोलको बिकासमा टोल बिकास संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले टोलको बिकासको लागि योजनाको माग र त्यसको कार्यान्वयनमा टोल बिकास संस्थाको भूमिकाले प्रभाव पार्ने बताउँदै समस्याको समाधानमा पनि टोल बिकास संस्थाकै भूमिका रहने उल्लेख गर्नुभयो । टोल बिकास संस्थाले पालिका र टोलमा रहेको घर बिचको पुलको काम गर्नुपर्ने समेत भनाई राख्नुभयो ।

त्यस अवसरमा तल्ला देवीनगर टोल बिकास संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, संस्थाकी सचिव मायाँ ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो । साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ज्योतीप्रसाद अर्यालले कोभिड–१९ महामारीका कारण समयमा साधारण सभा तथा अधिवेशन गर्न नसकिएको जानकारी गराउनु भयो । उहाँले बुटवल उपमहानगरपालिकाले गर्ने योजना तर्जुमा, सडक वत्ति, सरसफाई, भेला, गोष्ठि, लगायतका कार्यक्रममा उक्त टोलबाट नियमित उपस्थित भई त्यसको कार्यान्वयन भईरहेको जानकारी गराउनु भयो । प्रतिवेदनमा उक्त टोलमा १५३ घरधुरी रहेको र टोल बिकास संस्थाले सञ्चालन गरेको आर्थिक कारोवारमा १२६ जना सहभागि भएको उल्लेख गर्नुभएको छ ।
संस्थाले सरसफाई अभियान सञ्चालन गरेको, बजेट तर्जुमा तथा योजना छनौट गरि पठाएको, वडाको समग्र रेकर्ड संकलन गर वडामा पठाएको, टोलमा रहेका १४ वटा सडक मध्ये ५ वटा मात्रै पिच भएको र बाँकी सडकमा क्रमश काम गर्दै जाने लगायतका बिकासका कामहरु उहाँले प्रस्तुत गर्नुभयो ।
त्यस्तै वडाले सञ्चालन गरेको राहत कोषमा ५० हजार सहयोग गरिएको, असाहाय आश्रमको लागि ५२ हजार ५ सय रुपैंया सहयोग प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो । त्यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष चित्रबहादुर खत्रीले ६० लाख ३५ हजार ६२० रुपैंयाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।