संसद विघटनको बिरोध गर्दै नेपाली काँग्रेसका भातृसंस्थाहरुले देशभर विरोध प्रदर्शन गरेका छन् । संसद विघटन भएलगत्तै प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनी आन्दोलनरत नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार उसका भातृ संस्थाहरुले देशभरका ७७ वटै जिल्लामा प्रदर्शन सहित बिरोध सभा गरेका हुन् ।
सोमबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको बिरोध सभालाई सम्बोधन गर्दै विघटित प्रतिनीधि सभा नेपाली काँग्रेसका प्रमुख सचेतक ओली प्रधानमन्त्री हुँदादेखि नै असंवैधानिक काम गर्दै आएको आरोप लगाउनु भयो । ओलीले संसदको सपथ नलिँदै प्रधानमन्त्री हुन हतारिएको स्मरण गर्दै उहाँले त्यसयता प्रधानमन्त्रीले हरेक काममा संविधानलाई मिच्ने काम गर्दै आएको आरोप लगाउँदै संसद विघटनलाई सर्बोच्चले उल्ट्याईदिने दावी समेत गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य बद्रि पाण्डेले यो सरकारको प्रारम्भदेखि नै आफूहरुलाई आशंका रहेको बताउँदै सत्ता स्वार्थको लागि भएको तत्कालिन एमाले एमाओवादी बिचको एकता स्वार्थ नमिल्दाकै दिन विथोलिएको दावी गर्नुभयो । अहिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधानमाथि निर्मम प्रहार गरेको बताउँदै संविधानको रक्षाको लागि नेपाली काँग्रेसले जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताउनु भयो ।
बिरोध सभामा काँग्रेस नेता विघटित प्रतिनीधि सभा सार्वजनिक लेखा समितका सभापति भरतकुमार शाहले वर्तमान ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नारा जप्ने प्रधानमन्त्री ओलीले वाईड वडी जहाज, सेक्युरिटि प्रिन्टिङ् प्रेस खरिद लगायतका प्रकणमा मुछिएकालाई संरक्षण गर्ने काम गरेकोले टिन ठटाएर धपाउनु पर्ने भनाई राख्नुभयो ।
नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ रुपन्देहीकी सभापति गंगा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ, नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष मिलन थापा, नेपाल थारु संघका अध्यक्ष सन्तराम थारु, नेपाल मुस्लिम संघका अध्यक्ष मोहम्मद महबुब खाँ, नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष खगेश्वर पुन, नेपाल दलित संघका अध्यक्ष बुद्धिराम हरिजन र नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाहीले सरकारले संसद विघटन गरेर संविधान माथि प्रहार गरेको बताउँदै काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षाका लागि पार्टीले जस्तो जिम्मेवारी दिएपनि निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
बिरोध सभा अंगाडी नेपाली काँग्रेसका भातृसंस्थाहरुले तिलोत्तमा नगरपालिकाको मंगलापूरदेखि भलवारीसंम्म बिरोध प्रदर्शन गरिएको थियो ।